सेनाले छाडेको वैध ६५ खसीबोका सक्कल कागजातसहित प्रहरीले जफत गरेपछि गृहमन्त्रालय गुहार्दै पीडित

0

काठमाण्डौं – वडाको सिफारिस, भेटेरिनरी प्रमाणपत्र र चौपाया खरिदबिक्री कम्पनीको प्यान बिलसहित ढुवानीका सम्पूर्ण कागज राखेर कञ्चनपुरबाट काठमाडौं ल्याउँदै गरिएको एक मिनिट्रक खसीबोकालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिई बिदाको दिन भन्सार कार्यालयलाई बुझाएर लिलामी गरिदिएपछि पीडित गृहमन्त्रालय गुहार्न पुगेका छन् ।

घटना गएको भदौ २७ गतेको हो । मिनिट्रकका सहचालक कुशल भुसालका अनुसार २७ दिउँसो २ बजेतिर कञ्चनपुरको महेन्द्रनगरबाट पुनर्वास नगरपालिका –२ अरनिको बस्तीस्थित श्री जुलिया चौपाया खरिदबिक्री केन्द्रले गाउँघरबाट किसानसँग खरिद गरी जम्मा पारेको ६५ वटा खसी बोकेर चालक कृष्णप्रसाद पराजुलीले ना ७ ख ८९९८ नम्बरको मिनिट्रक काठमाडौंका लागि बढाए ।

भेटेरिनरी प्रमाणपत्रको अवधि ४८ घण्टाभित्र हुने भएकोले गन्तव्य स्थलमा पुग्नुपर्ने बाध्यतामा चालक पराजुली थिए । मिनिट्रक मकवानपुर हेटौडाका रोमन आचार्यको हो ।साथमा पुनर्वास नगरपालिका–२ का वडाध्यक्ष सन्तकुमार चौधरीद्वारा जारी ढुवानी सिफारिसपत्र, पशुपंक्षीको आन्तरिक ओसार–पसार र बिक्रीवितरणको दिइने भेटेरिनरी प्रमाणपत्र, जुलियाको प्यान बिलको सक्कल प्रति र त्यसको केही थान प्रतिछायाँ (फोटोकपी) चेकपोष्टहरुमा देखाउन साथमा बोकेका थिए ।

उल्लेख भएअनुसार ३५ वटा खसी १३ हजार र ३० वटा खसी १२ हजार पाँच सयका दरले कूल रकम ८ लाख ३० हजारको जुलियाको प्यान बिल (६०८८७२३९९) काटिएको भदौ २७ गते थियो । जुलिया घरेलु तथा साना उद्योग कार्यालय र वाणिज्य विभागमा दर्ता रहेको कागजले देखाउँछ । जुलिका प्रोप्राइटर हुन् बलबहादुर तामाङ । उनले ६५ खसी काठमाडौंमा नसिर अन्सरीलाई बिक्री गरेका थिए । तामाङले मिनिट्रकमा सबै खसी लोड गरेर चालक पराजुली र सहचालक भुसाललाई जिम्मा लगाएर काठमाडौं पठाएका थिए ।

सहचालक भुसालले दिएको जानकारी अनुसार मिनिट्रकले कञ्चनपुरको विभिन्न चेकपोष्ट र कैलालीको अत्तरियालगायत चेकपोष्टमा कागजपत्र देखाए र कागजपत्र देखाएपछि रोकटोक भएन । सरासर अगाडि बढ्यो । त्यहाँबाट कर्णाली पुलपारि चिसा पानीमा रहेको कर्णाली चेकपोष्ट पनि कागजपत्र चेकजाँच गरी अगाडि जान दियो । पुलवारिको बर्दियाको सेनाको सुरक्षा पोष्टले पनि कागजपत्र हेर्यो र सही पाएपछि निकुञ्जको बाटो छिर्ने समयपूर्जा दियो । निकुञ्च क्षेत्रभित्रका सेनाको चारवटै सुरक्षा जाँचपोष्टले कागजपत्र ठीक पाएपछि रोकटोक नगरी जान दिएको भुसालले बताए । निकुञ्जका सेनाले दिएको समयपूर्जा अर्थात टाइम कार्डमा सेनाले कर्णाली चेकपोष्टमा २७ गते रातको ९ः२५ बजे इन्ट्री भई अम्रेनीमा ९ः४७ बजे पुगेको र बीचको बस्ती कटेपछिको चेकपोष्ट सैनवारमा १०ः१५ बजे इन्ट्री भई रम्भापुरबाट १०ः३७ बजे पार भएको उल्लेख छ ।

भुसालका अनुसार त्यसपछि लगातार अगाडि बढ्दै बाँकेको चप्परगडी आइपुगे जहाँ बाँकेको कोहलपुर इलाका प्रहरीअन्तर्गत प्रहरी बिट छ । त्यहाँ पनि कागजत्र मागियो र दिइयो । कागजपत्र हेरेर चप्परगडीले पनि जान दिएको भुसाल भन्छन् । त्यहाँबाट करिब ५ सय मिटरजति अगाडि पुगेपछि पछाडिबाट सेतो रंगको मोटरसाइकलमा सर्वसाधारणको भेषमा आएका दुईजनाले मिनिट्रकलाई ओभरटेक गरेर बाटो छेके र कागजपत्र मागे ।

मागेपछि तपाईहरुको को हो भनेर सोध्दा प्रहरी हौं भनेपछि एकान्तबिचमा भएकोले कागजपत्रको प्रतिलिपि दिएको तर सक्कली नदिएसम्म नहुने जिद्दी गरेपछि आफूहरुले सक्कली कागजपत्र सबै दिएको भुसाले बताए । सक्कली नदिए जानै नदिने र फोटो च्यातिदिने त्रास देखाएको बताउँछन् सहचालक भुसाल । त्यसरी सक्कल कागज लिई मोटरसाइकलसहित गएका दुवै जना आधा घण्टा बढी समय बित्दा पनि नफर्किएपछि आफू मिनिट्रकबाट ओर्लेर पुनः चप्परगडी बिटमा पुगेर घटनाबारे बताएको र बताएपछि त्यहाँका रहेका हवल्दारले फोन गरेर तिनीहरुलाई बोलाएको भुसालले अनलाइनपाना डटकमसँग बताए ।

विटमा आइपुग्ने बित्तिकै आफूलाई ‘तँ को होस्, मन्त्री, प्रधानमन्त्रीका मान्छे होस्’ भन्दै अपशब्दले गाली गरेको र आफूले सबै कागजपत्र सही भएकोले जान दिन आग्रह गर्दा ‘अब भित्र जान्छस्’ भनेर सक्कली कागपत्र फिर्तानै नगरी सरासर कोहलपुर ईप्रकाभित्र गाडीसहित रातभर थुनेको भुसाल बताउँछन् । चालक र सहचालक दुवैले आफूहरुको काम भाडा लिएर ढुवानी गर्ने भएकोले खसीबारे थप बुझ्न खसी पठाउने कम्पनी वा त्यहाँका मालिकसँग कुरा गर्न आग्रह गर्दा कम्पनीका एक म्यानेजरसँग कुराकानी गरिएको र कुराकानीमा बार्गेनिङ चलाइएको बताउँछन् भुसाल ।

आफूहरुको ढुवानी अवैध नरहेको र शंका लागेमा खसी मालिक आउन दिन पटकपटक गरेको आग्रहलाई ईप्रकाका प्रमुखले बेवास्ता गरेको गुनासो भुसालले गरे । सक्कली कागजपत्र फिर्ता पाउन माग गर्दा ‘सक्कली कागजपत्र भए यो हुन्थ्यो’ भनेर सुनुवाई नै नगरिएको बताए । भुसालले आफूमाथि अन्याय भएको यसबारे संचारमाध्यमलाई बताउन चाहेको बताए ।

कोहलपुर ईप्रकाले अवैध रुपमा ओसारपसार गरेको अवस्था फेला पारेको पत्र बनाएर भोलिपल्ट २८ गते शनिबार बिहान ११ बजेतिर बाँके भन्सार कार्यालय नेपालगन्जलाई बुझायो र बुझाएलगत्तै भन्सार कार्यालयका प्रमुख शान्तिरात निरौलाले ‘खसी चोरी पैठारी’ मुद्दामा छोटकरी व्यहोरा तयार पारी चालक पराजुलीलाई ५ लाख ५४ अजार रुपैयाँ धरौटीमा छाड्न र खसीलाई बढाबढ मूल्यमा लिलामी गर्न आदेश दिए । ईप्रकाका प्रहरी नायब निरीक्षक (सई) नरेन्द्रबहादुर शाहीबाट पेसित बरामदी मुचुल्का प्रतिवेदनका आधारमा भन्दै को सट्टा ६३ वटा खसीको मात्र प्रमुख निरौलाले व्यहोरा तयार पारेका थिए ।

त्यतिन्जेलसम्म मालिक बलबहादुर तामाङ खसीबारे जानकारी दिन कञ्चनपुरबाट ईप्रका कोहलपुर आइपुग्दै थिए । तर बाटोमा आउँदै गर्दाको समयमा भन्सार कार्यालयलाई बुझाइसकिएको कुराको जानकारी ईप्रकाबाट नदिइएको गुनासो तामाङले गरेका छन् । आफूले पुनर्वासका विभिन्न किसानसँग खरिद गरी वडा कार्यालय र भेटेरिनरीको रिफारिससाथ ६५ वटा खसीलाई मिनिट्रकलाई भाडा दिई काठमाडौं पठाउने क्रममा प्रहरीले दुःख दिएको भन्दै तामाङले गुनासो गरे ।


यसरी भन्सारमा पुर्याइएपछि पनि पराजुली र भुसालले खसीका मालिक आउन दिई सत्यतथ्य बुझ्न पटकपटक अनुरोध गरेका र पूरै बेवास्ता गरिएको बताए । शनिबारको दिनमा भन्सार कार्यालयले ‘अवैध’ बताएर ६३ वटा खसीलाई दिउँसो ४ः३० देखि ५ः३० को एक घण्टे समयावधि तोकेर लिलाी सूचना निकाली ६३ वटा खसीलाई ६ लाख १६ हजार ५०० मा बिक्री गरेको भुसालले जानकारी दिए । राज्यकै कामकारवाहीले अाफूहरु गम्भीर अन्यायमा परेकाे उनकाे भनाइ छ । सोसम्बन्धी सम्पूर्ण कागजपत्र अनलाइनपानासँग सुरक्षित छ ।

२ वटा खसी भन्सार कार्यालयमा पुगेपछि गायब पारिएको आशंका भुसालकाे छ । गाडीवालाले खसी मालिक नआएसम्म ट्रकबाट नझार्न गरेको अनुरोधलाई पनि कार्यालयबाट सुनुवाई भएन । मालिक तामाङ आइपुग्दा पहिल्यै ६३ खसी लिलामी भइसकेको थियो । चालक पराजुली ‘चोरी पैठारीको खसी ओसार्न प्रयोग भएको सवारीचालक’को अभियोगमा धरौटीसोही दिन अर्थात भदौ ३० गतेबाट बाँके कारागार चलान भएका छन् ।

सुरक्षाकर्मीबाटै गैरकानूनी काम भएको जनाउँदै खसी मालिक बलबहादुर तामाङले न्याय पाउन र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गराई पाउँ भनी हिजो आइतबार गृहमन्त्रालयमा निवेदन दिएका छन् । निवेदनमा ९ थरी कागजात प्रमाणको रुपमा संलग्न गरिएको छ ।निवेदनको दर्ता नम्बर १३८ रहेको छ । उनीहरु घटनाको अनुसन्धान गर्न छानबिन गरी दोषीलाई कारवाही गर्न मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी रहेकाे जनाइएको छ ।

घटनाबारे थप बुझ्न सम्पर्क गर्दा बाँके जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शिवबहादुर सिंहले आफूले यस विषयबारे आफूले पनि सुनेकाे र बुझ्ने क्रममा रहेको प्रतिक्रिया दिए ।

Leave A Reply

Your email address will not be published.