रजस्वला भएकी बालिकालाई शिक्षकले नै अपमान गरेपछि आत्महत्या

0

बीबीसी – केन्याकी एक छात्रालाई विद्यालयमा कक्षामा शिक्षकले रजस्वला भएको भन्दै लज्जित पारेपछि आत्महत्या गरेकी छन् । १४ वर्षीया बालिकाकी आमाले उनले झुण्डिएर आत्महत्या गरेको बताएकी छन् । केन्याका सञ्चारमाध्यमका अनुसार उनलाई कक्षाकोठामा उनको पोसाकमा लागेको रगतको दाग देखाएर शिक्षकले नै अपमान हुने किसिमले गिज्याएपछि उनले आत्महत्या गरेकी हुन् ।

बालिकाले आत्महत्या गरेपछि करिब दुई सयजना अभिभावकले विद्यालयबाहिर शिक्षकलाई कारबाहीको माग गर्दै आन्दोलन गरेका छन् । उक्त आन्दोलन गरिरहेका अभिभावकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गर्दै भीडलाई तितरवितर पारेको छ । सन् २०१७ मा केन्या सरकारले हरेक विद्यालयमा निशुल्क सेनेटरी प्याड दिनुपर्ने नियम बनाएको छ । विद्यालयहरुमा यो कार्यक्रम किन लागु गरिएन भन्ने विषयमा संसदीय समितिले छानबिन गरिरहेको छ ।

गत शुक्रबार राजधानी नैरोबीको पश्चिम क्षेत्रमा रहेको काबैनगेकस्थित विद्यालयका शिक्षकले छात्राको पोशाकमो रगतको दाग लागेको देखेपछि उनलाई ‘फोहोरी’ भन्दै कक्षाबाट निस्कन भनेको छात्राकी आमाले केन्याका सञ्‍चारमाध्यमलाई बताएकी छन् । उनले छोरी घर आएर विद्यालयमा भएको सबै कुरा भनेको तर, उनी पानी लिन कोठामा गएको र अलि समयपछि नफर्किएपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा भेटिएको बताइन् ।

केन्याको सञ्‍चारमाध्यम डेली नेशनका अनुसार उनका आमाबुबाले प्रहरीमा उजुरी दिएका छन् । प्रहरी आवश्यक कदम नचाल्दा अभिभावक दिक्क भएर अन्य अभिभावकसँग मिलेर आन्दोलनमा उत्रिएका छन् । तर, प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको र पाँच जनालाई पक्राउ गरेको बताएको छ । अहिले उक्त विद्यालय तनावग्रस्त हुँदा बन्द गरिएको छ । क्षेत्रीय प्रहरी प्रमुख एलेक्स शिकोन्डीले बालिकाको मृत्युको विषयमा विस्तृत अनुसन्धान भइरहेको बताएका छन् ।

यस विषयमा विद्यालयका प्राधानाध्यापकले कुनै प्रतिक्रिया दिएका छैनन् । केही अन्य देशमाजस्तै केन्याका धेरै बालिकाहरुले रजस्वलाको समयमा प्याडहरु किन्न सक्दैनन । सन् २०१४ को संयुक्त राष्ट्रसंघको प्रतिवेदन अुनसार रजस्वलाका समयमा अफ्रिकी मुलुकमा १० बालिकाले विद्यालय छोड्ने गरेका छन् । यही कारण २० प्रतिशत बालिकाले त पढाइ नै छोड्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.