एटिएम ह्याक प्रकरण: विमानस्थलबाट थप एक चिनियाँ नागरिक पक्राउ

0

काठमाण्डौं – नेपाली बैंकको एटिएम ह्याक गरेर करौडौँ रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आशंकामा थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले त्रिभुवन विमानस्थलबाट थप एक जना चिनियाँ नागरिकलाई आइतबार राति पक्राउ गरेको हो । तर घटनामा उनको संलग्नता रहे नरहेको यकिन भइसकेको छैन ।

‘अनुसन्धानका क्रममा सोधपुछका लागि थप एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएका छौँ, उनको संलग्नताबारे अनुसन्धान भइरहेको छ’ महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले भने, ‘अहिले नै केही भन्न सकिन्न, हामी अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीले नेपाली एटिएम ह्याक गरेर रकम चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका छन् ।

उनीहरु यही भदौ १३ गते मात्रै त्रिभुवन विमानस्थल भएर नेपाल प्रवेश गरेको र सोमबार (भदौ १६ ) गते फर्कने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

एटिएमबाट एकै पटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेको र विदेशी नागरिकको शंकास्पद गतिबिधि देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले दरबारमार्गस्थित एटिएमबाट रकम निकाल्दै गर्दा सुरुमा एकजनालाई पक्राउ गरेको र त्यसपछि उनको बयानका आधारमा अरु चारजनालाई होटलबाट पक्राउ गरिएको जनाएको छ ।

होटलमा बसेका चारजना प्रहरी देख्नेबित्तिकै भाग्न खोजे पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.