जम्मु काश्मीरका बासिन्दाको हितका लागि धारा ३७० खारेज: मोदी

0

एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीर र लद्धाखलाई आतंकवाद र अलगाववादबाट मुक्त गर्नको लागि सरकारले संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरेको बताएका छन् । उनले सो क्षेत्रको विकासको बाधक धारा ३७० भएकोले पनि यो खारेज गरिएको जनाए ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् । उनले यो कदम जम्मु काश्मीर र लद्धाख क्षेत्रका जनताको हितका लागि नै भएको समेत बताए । उनले जम्मु काश्मीरका ४२ हजार मानिसले यस क्षेत्रको सुरक्षाको लागि ज्यान गुमाएको बताउँदै अब सबै जनता र सरकार मिलेर यो क्षेत्रलाई विकसित बनाउने समेत बताए ।

मोदीले जम्मु काश्मीर भारतको मुकुट भएको बताउँदै सबै क्षेत्रलाई जम्मु काश्मीरको विकासको लागि आवश्यक परियोजना बनाउन पनि आग्रह गरेका छन् । उनले भारत सरकारले अहिले ऐतिहासिक फैसला गरेको जनाउँदै यसअघि जम्मु काश्मीर क्षेत्रमा विकासको लागि बाधा रहेकोमा अब त्यसो नहुने बताए । अब विकास गर्ने आफूहरुको सपना पूरा हुने अवस्था आएको बताउँदै अन्य राज्यमा प्राप्त अधिकार सरह अब जम्मु काश्मीरका जनतामा पनि त्यो अधिकार प्राप्त हुने जनाएका छन् ।

उनले अब जम्मु काश्मीरमा नयाँ युगको सुरुवात भएको उल्लेख गर्दै यसअघि धारा ३७० ले गर्दा जम्मु काश्मीरमा बाधा परिरहेको भएपनि ‘चल्दै जान्छ’ भन्ने शैली अपनाइयो तर अब त्यसो गर्ने अवस्था नरहेर नै यो धारा खारेज गरिएको जनाए ।

यसअघिको व्यवस्थाका कारण जम्मु काश्मीरका भाइबहिनीहरु अलगाववाद, आतंकवाद र परिवारवादको कारण अवसरबाट वञ्‍चित भएको समेत बताए । त्यस्तै भ्रष्टाचार बढेको र यही संविधानको धाराका कारण पनि पाकिस्तानले भावना भड्काउने काम गरेको जनाए ।अहिले सरकारले चालेको कदमले जम्मु काश्मीरबासीको वर्तमान र भविष्ष पनि सुध्रने बताए ।

उनले सधै जम्मु काश्मीर केन्द्र शासित क्षेत्र नरहने बताउँदै अवस्थामा सुधार आएपछि त्यहाँका जनताले मुख्यमन्त्री र अन्य निकाय आफ्नै मतदानबाट छनोट गर्न पाउने समेत बताए । उनले इद मनाउने सिलसिलामा जम्मु काश्मीरबासीलाई सामान्य अवस्थामा फर्काउने जनाउँदै सो चाड मान्‍न जानेलाई पनि सरकारले सहयोग गर्ने भएकोले निश्चिन्त हुन आग्रह गरेका थिए ।

उनले स्थानीय कर्मचारी, सेना र प्रहरीमा स्थानीय युवाहरुलाई नै रोजगारीको व्यवस्था गरिने समेत प्रधानमन्त्री मोदीले जनाएका थिए । देशको लोकतन्त्र मजबुत भएपनि जम्मु काश्मीरमा दशकौंदेखि हजारौं जनताले लोकतान्त्रिक अधिकार प्रयोग गर्न नपाएको तर अब त्यस्तो नहुने जनाए ।

उनले भारतको आर्थिक प्रगतिमा जम्मु काश्मीरले महत्वपूर्ण भूमिका खेल्न सक्ने जनाउँदै नयाँ व्यवस्था अनुसार भारतले विश्व शान्तिका लागि काम गर्न सक्ने पनि जनाए । जम्मु काश्मीर र लद्धाखका जनतासबै मिलेर अब देखाइदिने बेला भएको जनाउँदे यस क्षेत्रका मानिसको हौसला कस्तो छ त्यो देखाइदिऔं भनेर प्रस्ताव गरेका थिए । उनले नवनिर्माणको लागि काम गरेर देखाउने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री मोदीको मन्तव्य खासगरी धारा ३७० खारेज गर्नुको औचित्य सिद्ध गर्न तथा जम्मु, काश्मीर र लद्धाखका जनतालाई फकाउने उदेश्यमा केन्द्रीत रहेको थियो । सोमबार सरकारले संविधानको धारा ३७० खारेज गरेपछि विभिन्न हिसाबले आलोचना भइरहेका बेलामा मोदीले आज पहिलो पटक देशका नाममा सम्बोधन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.