संसदमा अनौठो संयोग: ऊर्जामन्त्री बोल्दाबोल्दै बत्ती अफ, सांसदहरुद्वारा बिल्ला !

0

काठमाण्डौं – बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा अनौठो संयोग जुरेको छ ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यतालिका थियो। सोही कार्यतालिका अनुसार मन्त्री पुनले देशमा बिजुलीको अवस्थाबारे सम्बोधन गरिरहेका थिए । तर, संयोगवश बोल्दाबोल्दै संसदको बत्ती निभ्यो ।

ऊर्जामन्त्रीले बिजुलीकै विषयमा बोलिरहँदा बत्ती निभ्नुलाई सामान्य संयोग मान्न सकिन्न । त्यसैले पनि होला संसदमा उपस्थित सांसदहरुले यो संयोगको गतिलै फाइदा उठाए ।

बत्ती निभ्ने वित्तिक्कै सांसदहरुले टेवल ठोक्दै गललल हाँसे । यो हाँसो ऊर्जामन्त्रीप्रतिको ‘बिल्ला’ पनि थियो । सांसदहरु मात्रै होइन सम्बोधन गरिरहेका ऊर्जामन्त्री पुनले पनि हाँस्दै धन्यबाद दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले मन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत आपूर्ति अवस्था दर्शाउने भन्दै टिप्पणी गरे ।

संसदमा बोल्दै मन्त्री पुनले दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने बताए ।

मन्त्री पुनले जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पुर्याउन आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिए । उनले सुर्खेतबाट ८१ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको उल्लेख गर्दै ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पुर्याएको र आगामी दुई वर्षभित्र राष्ट्रिय ग्रीड पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए ।
राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायीरुपमा कालीगण्डकी जलविद्युत् आयोजनाको ३०० केभीए क्षमताको डिजेल जेनेरेटर जुम्ला लैजान आवश्यक प्रक्रिया सुरु गरिएको मन्त्री पुनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.