पाकिस्तानले भारतसँगको व्यापार सम्झौता तोड्यो, राजदूत पनि फिर्ता पठाउने

0

इस्लामावाद / एजेन्सी – भारतले जम्मू कश्मीरलाई विशेष दर्जा दिने व्यवस्था खारेज गरेपछि पाकिस्तानले कडा कदम उठाएको छ । अन्तर्राष्ट्रियरुपमा विवादास्पद रहेको जम्मू कश्मीरबारे भारतले एकतर्फीरुपमा घोषणा गरेपछि पाकिस्तानले भारतसँगको व्यापारिक सम्झौता खारेज गरेको हो ।

भारतीय संविधानअनुसार जम्मू कश्मीरलाई दिइएको विशेषाधिकारलाई भारतले सोमबार खारेज गरेको थियो । भारतीय संविधानको धारा ३७० लाई खारेज गर्दै भारतले जम्मू कश्मीरलाई पनि विभाजन गरेर दुई केन्द्र शासित प्रदेश बनाएको छ । भारतले जम्मू कश्मीरबाट लद्दाखलाई अलग गरेर दुई केन्द्र शासित प्रदेश बनाएको हो ।

भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा यो विषयमा जानकारी दिँदै पाकिस्तानको कब्जामा रहेको कश्मीरमा पनि नयाँ प्रावधान लागु हुने बताएका थिए । बुधबार भारतले देशको नयाँ नक्सासमेत सार्वजनिक गरेको छ । जसमा पाकिस्तान कब्जामा रहेको कश्मीर पनि समेटिएको छ ।
भारतले एकतर्फी रुपमा यस्तो कदम चालेपछि पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्धमा कटौती गरेको हो। पाकिस्तानी सुरक्षा समितिको बैठकपछि भारतसँगको व्यापार सम्बन्ध ताड्ने पाकिस्तानले घोषणा गरेको हो ।

पाकिस्तानले इस्लामावादस्थित भारतीय राजदूतलाई पनि फिर्ता पठाउने भएको छ । यस्तै यो मामिलालाई पाकिस्तानले राष्ट्रसंघमा पुर्याउने भएको छ ।


भारत र पाकिस्तानबीच लामो समयदेखि विवादित रहेको कश्मीर मामिलामा भारतले गरेको परिवर्तनले यो विषय झन उल्झिएको कतिपय विश्लेषकहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.