भक्तपुर – साउन कृष्ण त्रयोदशी अर्थात पवित्र गठेमंगलसँगै घन्टाकर्ण पर्व परेको छ । यो पर्व आज मङ्गलबार मनाइँदै छ। विशेषगरी नेवारी बस्ती रहेको दोबाटो र चौबाटोमा नर्कटको घन्टाकर्णको प्रतीक बनाई साँझमा नर्कटसँगै पराल बालेर भूत मन्साएर घन्टाकर्ण पर्व मनाउने प्रचलन छ।
महादेवको स्तुतिबाहेक कुनै कुरा सुन्न नपरोस् भनेर कानको दुवै लोतीमा घन्ट झुन्ड्याएर सोही घण्टको ध्वनिमात्र सुन्दै आएका राक्षसले समाजमा दुःख दिन थालेको जनश्रुति छ। त्यसपछि पार्वतीको आग्रहमा एक दिन मात्र घन्टाकर्णलाई धर्तीमा विचरण गर्ने महादेवबाट अनुमति प्राप्त भएकाले यो दिन घन्टाकर्णको धर्तीमा रजगज रहेको हुन्छ भन्ने मानिन्छ।
तिनै घन्टाकर्णको प्रतीकलाई विभिन्न भेषमा स्मरण गर्दै आ–आफ्नै तवरबाट यो पर्व मनाउने चलन छ। हरिसिद्धमा झन्डै २५ फिट अग्लो उचाइको नर्कटलाई यसैको प्रतीक बनाई यो पर्व मनाउने गरिएको पुजारी राइटर महर्जन बताउछन्। । यहाँ बिहानै गृहिणीबाट आँगन सफा गरेर ढोकाको सँघारमा आगो बालेर चोख्याउने चलन छ। भक्तपुरमा पनि उत्सवका साथ यो पर्व मनाइँदैछ।
महाकालीनाच भक्तपुर गलसीपुखुका नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार भक्तपुरका चौबाटोमा नर्कट छ्वालीको प्रतीक बनाई यो पर्व मनाइँदैछ। दण्डेख्याका अनुसार यो भूत भनिए पनि भगवान्का रूपमा पूज्य असल कार्य गर्ने भूत हो। नेवारीमा गठा मुः भनेर यसलाई आदरपूर्वक सम्मान पनि गरिन्छ। ओमबहालस्थित दफ्तर युवा क्लबका अध्यक्ष राकेश शाही भन्छन्, “सत्य युगमा राक्षसलाई आह्वान गरेर खेत खनाइयो र पछि यिनलाई पाल्नै नसकिने भएपछि बिदाइ गर्नुपर्ने हुँदा यो पर्व मनाउन थालिएको जनश्रुति छ।
” काठमाडौँ उपत्यकामा मात्र होइन, बाहिर पनि नेवारी बस्तीमा यो पर्व मनाइन्छ । सिन्धुपाल्चोक ऐँसेलुखर्क बारीगाउँमा पनि यो पर्व मनाइँदै आएको जगतबहादुर नकर्मी बताछन्। हाल काठमाडौँको ओमबहालमा बस्ने नकर्मीका अनुसार ऐँसेलुखर्कमा ठूलो नाङ्ग्लोमा भूत आकृति बनाई चौबाटो दोबाटोमा नर्कट ठड्याएर यो पर्व मनाइन्छ। गठे बनेकाले ओम शान्ति भनेपछि जात्रामा आएकाले ‘जय नेपाल’ भन्ने र ‘आजु जय’ भनेपछि ‘हा।।हा।।हा।।’ भन्ने गरिन्छ ।
स्वयम्भू डल्लु चाँगलका रामेश्वरमान कर्माचार्यका अनुसार आजु द्य अर्थात् पुर्खाका देवताको जय मनाउने यो प्रचलन नराम्रो भने छैन। यसै दिन फलाम शरीरमा धारण गर्ने र घरको निदालमा फलामको त्रिखुट्टी ठोकेर भूत मन्साउने प्रचलन पनि छ। पशुपतिनाथस्थित अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार देवपत्तनमा यो पर्व भव्यताका साथ मनाउने तयारी भएको छ।
मध्यरातमा नरदेवी चोकमा र भोटेबहालमा निकै गोप्यताका साथ भूत मन्साइन्छ। काठमाडौँका भित्री र मध्य सहरको सिद्धिचरणचोक, ओमबहाल, यङ्गाल, लगनटोल, भोटेबहाल र नरदेवीमा यो पर्व महत्वका साथ मनाइँदै छ। यो पर्व चलाउनका लागि कुनै गुठी छैन र स्वःस्फूर्त हुँदै आएको नकर्मीको भनाइ छ।