वर्षाको वितण्डा : अहिलेसम्म कहाँ के भयो ?

0

काठमाडौं – दुई / तीन दिनदेखिको लगातारको वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानका साथै सडक अवरुद्ध भएका समाचार प्राप्त भएका छन्। मौसमविदहरूले अझै केही दिन देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले बाढी पहिरोप्रति सजग रहनसमेत आग्रह गरेका छन् ।

उपत्यका बाहिरका अधिकांश विमानस्थल बन्द

भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ । बिहीबारदेखि लगातार परिराखेको वर्षाले अधिकांश विमानस्थल बन्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार लुक्ला, भोजपुर, तुम्लिङटार, फाल्पु, लामिडाँडा र धनगढी विमानस्थल बन्द छन् । तिवारीले भैरहवा, पोखरा, विराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि सुचारु रहेको जानकारी दिए ।

वर्षासँगै उपत्यकामा ट्राफिक जटिलता

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो ।

काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवारीसाधनका कारण उक्त समस्या उत्पन्न भएको छ। चाबहिल–साँखु, कलङ्की–नागढुङ्गा, बल्खु–दक्षिणकाली, सामाखुशीचोक-टोखा र भित्री सडकमा पानी जमेका कारण यातायात सञ्चालनमा कठिन बन्न पुगेको हो ।

स्टील गर्डर ब्रिज मर्स्याङदीमा खस्यो

प्राप्त समाचारअनुसार हिमाली जिल्ला मनाङको हुम्डे र ङावल जोड्न बनाइरहेको स्टील गर्डर ब्रिज मस्र्याङ्दी नदीमा खसेको छ । मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे र ३ ङावल जोड्न मस्र्याङदी नदीमाथि मोटर हिँड्न मिल्ने पुल बनाउँदै गर्दा खसेको स्थानीयले बताएका छन् ।

स्टील जोड्ने कार्य अन्तिम चरणमा पुगेको उक्त पुल मस्र्याङ्दी नदीमा झुण्डिएको अवस्थामा रहेको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले बताए ।

काभ्रेमा सडक अवरुद्ध, कष्टकर जनजीवन

यसैबीच काभ्रे जिल्लाका ग्रामीण भेगमा सञ्चालनमा रहेका सडकहरूमा आएको पहिरोका कारण अबरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगेका छन् । जिल्ला सदरमुकाम जोडिएका सडकभन्दा माथि खनिएका नयाँ सडक ट्याक भत्किएर पहिरो जाँदा अधिकांश ग्रामीण सडक अवरुद्ध भएको स्थानीयले बताएका छन ।

बेथानचोक गाउँपालिकाको ढुङर्खक–च्याम्राङबेशी–मिल्चेबोरङबेशी सडक एक हप्तादेखि अबरुद्ध भएको स्थानीयले बताए । बेथानचोक गाउँपालिका वडा न १ का नबराज सापकोटाले निरन्तर चलिरहेको ढुङर्खक–च्याम्राङबेशी–मिल्चेबोरङबेशी सडकभन्दा माथि खनिएको नयाँ ट्याकका कारण आएको पहिरोका कारण सडक बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर भएको बताए ।

गुल्मीको रुद्रवेणी-वामीटक्सार सडकखण्ड अवरुद्ध

तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

बिहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो। जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुने सो सडक अवरुद्ध बनेपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। अवरुद्ध सडक सञ्चालन गर्न शुक्रबार बिहानैदेखि गाउँपालिकाले डोजर सञ्चालन गरी पहिरो हटाउन शुरु गरेको अध्यक्ष ढकालले बताए।

वर्षाका कारण गुल्मीका एक दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउने सेवाग्राहीलाई समेत समस्या भएको छ ।

बरुवा नदीको बाँध फुट्ने खतरा, गाईघाट बजार जोखिममा

निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका – ११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।

तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताए । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताए ।

सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध

सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका – १४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोलाको बाढीले सडकखण्डमा ढुङ्गा, बालुवालगायत अन्य वस्तु थुपारेपछि इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले साँझपख सडक खुलाए पनि फेरि गए राति पुरिएका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

गए राति गोलन्जोर गाउँपालिका – ५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

यस्तै सुनकोशी गाउँपालिका – १ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए, बिहानको समय भएकाले अहिले थोरै सङ्ख्यामा मात्र सवारी जाममा परेको उनको भनाइ छ । आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने उहाँको भनाइ छ ।

पहिरोका कारण पाल्पा-बुटवल सडक एकतर्फी सञ्चालन

लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ ।

पहिरोले अवरुद्ध बनेको सडक केहीबेरअघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

सडक विभाग कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले डोजर प्रयोग गरेर पहिरो हटाउने कार्य गरिरहेको र केही समयमा सडक दुईतर्फी रूपमै सञ्चालन गरिने सापकोटाको भनाइ छ ।

वर्षाले वीरगञ्ज महानगर डुबानमा

अविरल वर्षाका कारण वीरगञ्ज महानगरलगायत पर्साका विभिन्न ठाउँ  डुबानमा परेका छन्। महानगरपालिकाका आदर्शनगर, ओम आश्रम, नगुवा, रानीघाट मुसौली र लक्ष्मनुवालगायत क्षेत्र डुबानमा परेका हुन् ।

बाढीका कारण बस्तीहरू डुबानमा परेपछि अत्यावश्यक कामका बाहिर जानसमेत कठिनाइ भएको स्थानीयले बताका छन्। उद्धारका लागि तयारी अवस्थामा रहे पनि अहिलेसम्म कुनै सूचना नआएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले उद्धारटोली र पाँचवटा डुंगा तयारी अवस्थामा रहेको बताए। डीईओसी (डिस्ट्रिक इमरजेन्सी अपरेसन सेन्टर) मार्फत पीडितको व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।

कोशी ब्यारेजका ३२ वटा ढोका खोलिए

तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीको जलस्तरमा वृद्धि देखिएता पनि अहिलेसम्म खतरा भने नरहेको प्रशासनले जनाएको छ। पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ ।

शुक्रबार बिहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको  छ। ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् । अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिए ।

कोशी नदीका लागि वर्षातको समयमा यतिको बहाव सामान्य मानिन्छ । १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ । नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ।  चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्परहरुमा देखापर्ने सम्भावना रहन्छ ।

साँफे-मार्तडी-कोल्टी सडक अवरुद्ध

यस्तै दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । बार्जुगाड खोला हुँदै सदरमुकाम मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । उनले अवरुद्ध सडक सञ्चालन गर्नका लागि सडक डिभिजन कार्यालय साँफेलाई खबर पठाइएको पनि जानकारी दिए । 


बिहीबार बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजार भन्दामाथि आउन नसकेकोे जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए । बाजुराको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध बनेको छ । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडकहरू अवरुद्ध बनेका हुन् । 

धनगढीमा डुबान

त्यस्तै, कैलालीको केही ठाउँ डुबानमा परेका छन् । बुधबार राति र बिहीबार बिहान भएको वर्षाले धनगढीको हसनपुर, एलएन चोक, कनरीलगायत क्षेत्र डुबानमा परेको हो । जिल्लाको कर्णाली, मोहना, पथरैया, कान्द्रा, काँढा, खुटियालगायतका नदीमा बाढी आएको छ । यसैगरी, खोलानालामा पानीको सतह बढेको छ । सबै नदीमा पानीको सतह बढे पनि अवस्था सामान्य रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रमा कार्यरत चेतन खड्काले जानकारी दिए । 

जनकपुरमा अस्पातल सहित बजार डुवानमा

यसै गरी लगातारको बर्षाले अञ्चल अस्पातल सहित बजार क्षेत्र डुवानमा परेको छ भने जनकपुरको ऐतिहासिक जानकी मन्दीर सहित नगरका अधिकांश भुभाग डुवान हुँदा जनजीवन प्रभावित बनेको छ ।

बर्षा-बाढी-नेपाल-आज

Leave A Reply

Your email address will not be published.