रेल दुर्घटनामा १० को मृत्यु, ६६ घाइते

0

एजेन्सी – पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एक–आपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६६ जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानी रेल अधिकारीहरूका अनुसार पञ्जाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एक–आपसमा जुधेका थिए ।

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्युजलाई दुर्घटनाबारे प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दशजनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिएका छन् । घाइतेहरूलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतका अनुसार घाइतेमध्ये चारजनाको अवस्था अत्यन्त गम्भीर रहेको छ ।

पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौँदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ । पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिए । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुईवटा रेल जुधेर तीनजनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.