तरकारीमा विषादीः भारततर्फ चेकजाँच यथावत

0

काठमाडौं – नेपालबाट भारततर्फ निकासी हुने तरकारी तथा फलफूलमा विषादी चेकजाँच यथावत रहेको खुलेको छ । भारतीय दबाबमा सरकारले आयात हुने तरकारीको विषादी चेकजाँच गर्न स्थगित गरे पनि भारतले भने यथावत राखेको हो ।

सरकारले निर्णय फिर्ता लिएको विषयमा आम सर्वसाधारणले चर्को विरोध गरिरहेका वेला भारतले भने विषादी चेकजाँच यथावत राखेको छ । भारतले कृषिजन्य वस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भईसकेको छ । नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन् । चिया उद्योगी तथा व्यवसायीहरूका अनुसार नेपालमा उत्पादित तयारी चिया भारत निकासी गर्दा कोलकाताको प्रयोगशालामा नमुना लगेर परीक्षण नगरी भारत निकासी गर्न पाइँदैन ।

लखनउ र कोलकत्ता गएर परीक्षण गरी ल्याउनुपर्ने नेपाली व्यापारीको बाध्यता, नेपालमा भने पाँच ठाउँमा परीक्षण केन्द्र रहँदा पनि स्थगित गर्ने निर्णय

नेपालका कृषिजन्य उत्पादन भारतमा निर्यात गर्न सहज नभएको नेपाली व्यवसायीहरु बताउँछन् । उनिहरूले भारततर्फ नेपालका कृषकले निर्यात गर्न कडाइ गर्ने र नेपालतर्फ आउने सामानमा भने भारतीय दादागिरी चल्ने गरेको बताउँछन् । सरकारले पछिल्लो पटक गरेको निर्णय राष्ट्रघाती भएको भन्दै उनीहरूले विरोधसमेत गरेका छन् । कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको किसान तथा व्यवसायीहरू बताउँछन् । इलामको गोर्खा टि इन्डस्ट्रिजका प्रोपाइटर उदय चापागाईंका अनुसार कोलकाताको प्रयोगशालामा लगेर नमुना परीक्षण नगरी नेपालको चियाको भारत जान पाउँदैन । रिपोर्ट आउन जति दिन लागे पनि उक्त चियाका सवारीसाधन सीमा नाकामै राख्नुपर्ने बाध्यता छ ।

सरकारी अधिकारीले नै भारतमा चेकजाँच हुने गरेको कुरालाई पुष्टि गरेका छन् । कृषि तथा पशुपंछी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालका व्यवसायीले भारतको कोलकाता र लखनउमा रहेका प्रयोगशालामा कृषिजन्य वस्तुका नमुना लगेर परीक्षण गराउनुपर्छ । जसका कारण प्रयोगशालाको रिपोर्टका लागि एक सातादेखि १५ दिनसम्म कुर्नुपर्ने उनले बताए । एकपटक परीक्षण गर्दा करिब २० हजार रुपैयाँ खर्च हुने बताइन्छ । उनले भने, ‘भारतले चाहेको जुनसुकै वेलामा हाम्रा उत्पादनको नमुना लगेर परीक्षण गराउँछ । त्यसमा पनि दुईवटा मात्र प्रयोगशाला छन् । कतिपय व्यवहारका कुराले यस्ता व्यापार समान छैनन् भन्ने लाग्छ ।’

कृषि मन्त्रालयका अनुसार हाललाई स्थगित भए पनि केही समयपछि पुन लागू हुने जानकारी दिएको छ । सिमामा विषादी मापन प्रयोगशाला स्थापना गर्ने काम सुरु भइसकेको भन्दै त्यसपछि पुनः परीक्षण सुरु हुने बताएको छ । मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार नेपालमा पाँचवटा विषादी मापनका प्रयोगशाला छन् । विर्तामोड, सर्लाही, काठमाडौं, पोखरा तथा बुटवलमा प्रयोगशाला रहेको उनले बताए । ‘हाम्रा सीमा नाकामा प्रयोगशाला छैनन् । तर संख्याको हिसाबमा धेरै छन् । तर, पनि भारतबाट तरकारी आयात गर्नेहरूले झञ्झट भयो भनेपछि सीमामा प्रयोगशाला स्थापना नहुन्जेललाई विषादी मापनको कामलाई स्थगन गरिएको हो’, मन्त्रालयका प्रवक्ता सुवेदीले भने ।

प्राविधिक तयारी गरी पुनः  चेकजाँच

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अर्गानिक मुलुक बनाउने तयारी भईरहेको बताएका छन् । तरकारीको विषादी चेकजाँच रोकेको भन्दै चर्को आलोचना भईरहेका बेला उनले सरकारको लक्ष्य अर्गानिक मुलुक बनाउने रहेको बताएका हुन् ।

संसदीय दलको बैठकमा सांसदले विषादीका विषयमा कुरा उठाएपछि उनले प्राविधिक तयारीपछि मुलुकमा भित्रिने र मुलुकभित्र उत्पादन हुने तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गरिने दावी गरे । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यथेष्ट तयारी बिना नै भारतबाट आयातित हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै अब तयारीका साथ सरकार अगाडि बढ्ने जानकारी गराए ।

मन्त्रिपरिषदको बैठकले सीमानामा परीक्षण गर्ने प्रविधि र जनशक्ति तयार गर्ने निर्णय गरिसकेको समेत बताए । ‘पूर्वाधार बनाउन सक्षम भइसकेका छैन रहेछौँ । कानुन त बनायौँ तर भन्सारमा जनशक्ति र प्रविधि तयार भइसकेको छैन रहेछ । विषादी स्वदेशी होस् कि विदेशी त्यसलाई नियन्त्रण गरिन्छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.