अन्ततः भारत सामु झुक्यो नेपाल, २ महिना पनि टिक्न सकेन सरकारको निर्णय

0

काठमाडौं – भारतको चर्को दवावपछि भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आफ्नो निर्णयबाट सरकार पछि हटेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले विरोध जनाएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो ।

भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एउटा चिठी नै लेखेर उक्त कदमको विरोध जनाएको थियो । त्यस्तै दूतावास अधिकारीहरुले सरकारी अधिकारीहरुलाई भेटेर विषादी जाँच गर्ने निर्णय तत्काल फिर्ता लिएर भारतीय वस्तु निर्वाध आयात गर्न दिन भनेका थिए । नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि सरकार आफ्नो निर्णबाट पछि हटेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको हो । आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए। पूर्वाधार नहुँदा तरकारी नाकामै कुहिने समस्या देखिएकाले अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने र यथासिघ्र प्रयोगशाला बनाउने क्याविनेट निर्णय भएको मन्त्री यादवको भनाई छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए । मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका अधिकारीहरुले जनाएका छन् ।

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।

हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै फलफूल तथा तरकारीको विषादी परीक्षण हुँदै आएको छ । भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानुपर्ने बाध्यता थियो। कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारबाट आउने गरेको छ ।

Leave A Reply

Your email address will not be published.