‘बुवा–छोरीको मृत्युको दोषी हामी हौँ’ – एल साल्भाडोर

0

ओस्कार–वालेरियाको निधनबारे एल साल्भाडोरका राष्ट्रपति

बिबिसी, एजेन्सी – एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका बुवा–छोरीको रियो ग्राण्डी नदीमा डुबेर निधन भएको घटनामा आफ्नो देश दोषी रहेको बताएका छन् ।

बिबिसीसँग एल साल्भाडोरका राष्ट्रपति बुकेलेले आफ्नो देशमा रहेको समस्याका कारण उनीहरु जोखिम लिन बाध्य भएको र त्यहि कारण निधन हुन पुगेकाले त्यसको सम्पूर्ण दोष आफूहरुले नै लिने बताएका हुन् ।

बाध्यात्मक रुपमा देश छोड्नु पर्ने अवस्था अन्त्यका लागि तत्काल काम गर्नु पर्ने उनले बताएका छन्। महिना दिनअघि सत्तामा आएका बुकेलेले एल साल्भाडोरलाई सुरक्षित र बसोबासका लागि राम्रो ठाउँ बनाउने प्रतिबद्धता जनाएका छन् ।

गएको हप्ताको आइतबार मेक्सिको र अमेरिकाको टेक्सासको सीमामा रहेको रियो ग्राण्डी नदी पार गर्ने क्रममा एल साल्भाडोरका ओस्कार अल्बर्तो मार्तिनेज रामिरेज र उनकी २३ महिनाकी छोरी वालेरियाको निधन भएको थियो ।

नदी किनारमा घोप्टो परेको अवस्थामा रहेको उनीहरुको शवको तस्बिर मेक्सिकोकी पत्रकार जुलिया ले दुकले खिचेकी हुन् । सो तस्बिर सार्वजनिक भएसँगै विश्वव्यापी रुपमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले भोग्नु पर्ने समस्या उदांगो भएको छ । सो तस्बिर आप्रवासी समस्याबारे हुने चर्चाको केन्द्रमा रहेको छ ।

वालेरिया आफ्ना पिताको पिठ्युँमा छिन्, उनको हात पिताको काँधमा छ । पिताले छोरीलाई आफ्नो लुगाले बेरेका छन् । छुट्टिएका छैनन् उनीहरु । मनै बराल्ने छ सो तस्बिर ।

ओस्कार र वालेरियाको सोमाबार एल साल्भाडोरमा अन्तिम संस्कार भयो । सान साल्भाडोरमा भएको फ्युनेरलमा झण्डै २०० जनाको सहभागिता थियो ।

ओस्कार र वालेरियाको तस्बिर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासी नीतिको सर्वत्र आलोचना भइरहेको छ । तर एल साल्भाडोरका राष्ट्रपति बुकेलेले उनीहरु अमेरिकाबाट नभइ आफ्नो देशबाट विस्थापित भएकाले जिम्मा आफ्नै देशले लिने बताएका हुन् ।

उनले भनेका छन्, ‘मानिसहरुले चाहेर आफ्नो घरबास छोड्दैनन्, बाध्य भएर छोड्छन् । किनकी उनीहरुसँग जागिर हुँदैन । ग्याङ्गहरुले धम्क्याउँछन् । पानी, शिक्षा तथा स्वास्थ्यसहितका आधारभूत कुराको अभावबाट निस्कनका लागि उनीहरुले घर छोड्छन् ।’

उनले भने, ‘हामीले अरु देशलाई दोष लगाउन सक्छौँ तर हाम्रो दोष देख्दैनौँ । देशले के गरेका कारण उनीहरु विस्थापित हुन बाध्य भए त्यो हेर्दैनौँ । उनीहरुले अमेरिका छोडेका होइनन् । एल साल्भाडोर छोडेका हुन् । र यो हाम्रो देशको दोष हो ।’

Leave A Reply

Your email address will not be published.