सुधार बिना वायु सेवा निगमलाई एक पैसा दिन सकिन्नः प्रधानमन्त्री ओली

0

काठमाडौं – प्रधानमन्त्री  केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ  पनि दिन नसकिने प्रष्ट गरेका छन् ।

नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म भन्दै प्रश्न गरे ।

‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो । आफैं सक्ने भए छिटो गर्न पर्यो’, ओलीले भने,‘गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन । यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ ।’

सही कार्ययोजना बिना निगमलाई यथास्थितिमा रकम दिन नसकिने प्रष्ट गर्दै उनले निजी क्षेत्रले सञ्चालन गर्दा जे पनि सफल हुने र सरकारी हुँदा जे पनि असफल हुनुको कारण के हो जवाफ दिनुपर्छ भने ।

प्रधानमन्त्री ओलीले निगमलाई सुधार्न आफु तयार रहेको भन्दै ठोस कार्ययोजना ल्याए थप विमान किन्न सरकारको सहयोग रहने पनि बताए ।

विमान खरिद गर्दा कमिशनको खेल हुनेतर्फ औल्याउँदै प्रधानमन्त्री ओलीले सरकारलाई कमिशन नचाहिएकाले निगमका पदाधिकारीलाई पनि कमिशनको पछि नलागी संस्था बनाउनेतर्फ लाग्न निर्देशन दिए ।

ऋण लिएर किनेको वाइड बडी जहाज चलाउन नसकेको निगमले किस्ता तिर्नकै लागि सरकारसँग आर्थिक सहयोग माग्दै आएको छ ।

राष्ट्रिय ध्वजावाहक भएकाले काँध थाँप्न सरकार तयार भएपनि आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराए । सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने पनि उनले बताए ।

सधैं सरकारको मुख ताकेर नबस्ने सुझाव दिँदै ओलीले नाम वायुसेवा भए पनि दान पूण्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको बताए ।

‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो ? ३९ अर्ब ऋण छ । यो दान पूण्यको मात्र क्षेत्र होइन । नाम सेवा निगम भए पनि व्यापार हो । निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन’, प्रधानमन्त्री ओलीले भने भने,‘आफैंले आम्दानी गर्नुपर्छ । जहाज किन्छौं चलाउने मान्छे छैन । वाइड बडी किन्यौं गन्तव्य छैन । नेपाल वायुसेवा निगममात्र घाटामा छ । काम गर्ने, चढ्ने, चलाउने सबै नाफामा वायुसेवा निगममात्र किन घाटामा ?’

Leave A Reply

Your email address will not be published.