नेकपा कञ्चनपुरका स्थानीय नेतामाथि साँघातिक हमला

0

कञ्चनपुर – नेकपा कञ्चनपुरका तीन स्थानीय नेताहरुमाथि मध्यराति साँघातिक हमला भएको छ । देखतभूलीमा शनिवार राति नेकपाका स्थानीय नेताहरु जनकराज जोशी, लक्ष्मण सिंह कार्की र देवसिंह धामीमाथि साँघातिक हमला भएको हो ।

हमलाबाट घाइते तिनै जनालाई थप उपचारको लागि भारत रिफर गरिएको छ । महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत रिफर गरिएको हो ।

नेपाली कांग्रेसको नेताहरुको आक्रमणबाट उनीहरु घाइते भएको नेकपा कञ्चनपुरले जनाएको छ । पूर्व प्रधान समेत रहेका कांग्रेस नेता दल बहादुर विष्टको नेतृत्वमा आएका उनीहरुले घरेलु हतियारसहित हमला गरेको नेकपा कृष्णपुरले जनाएको छ ।

हमला गर्ने समूहमा कांग्रै नेता विष्टसहित, मनोज विष्ट, मुकेश मल्ल लगायतका रहेको नेकपा कृष्णपुरका युवा नेता अर्जुन सिह साउदले जानकारी दिए । उनीहरुले एकाएक आएर जोशीको घर र पसलमा समेत तोडफोड गर्नुका साथै जोशीकी श्रीमती राजमाती जोशीलाई समेत कुटपिट गरेका छन् ।

अपि सामुदायिक वनमा वन फडानीको विषयलाई लिएर हमला भएको पीडितहरुको भनाई छ । अपि सामुदायिक वनका अध्यक्ष मदन नाथ लगायतका कांग्रेस नेताहरु काठ चोरीको आरोपमा पक्राउ परेपछि सोही समुहले नेकपा स्थानीय नेतामाथि हमला गर्न पुगेको नेता साउँदको दाबी छ ।

घाईतेलाई ल्याउन जानेबेला नेपाल रेडक्रस सोसाईटीको म१प२५२ नम्बरको एम्बुलेन्समा समेत उनीहरुले अवरोध गरेका थिए । एम्बुलेन्स चालक बीर सिह रावलमाथी पनि कुटपिट गरेका हुन् । उनलाई पनि थप उपचारको लागि भारत रिफर गरिएको छ ।

घटनामा संलग्न रहेकाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । यसअघि डोकेबजारमा नेकपा कार्यकर्ताको कुटाईबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु घाइते भएका थिए । खानेपानी मन्त्री बिना मगरलाई कालोझण्डा देखाउन खोज्दा नेकपा कार्यकर्ताहरुले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए ।

उनीहरुको आक्रमणबाट नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, विक्रम चन्द र कृष्णबहादुर चन्द घाइते भएका छन् । उनीहरुको काठमाडौंमा उपचार भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.