भेनेजुएलामा संकट समाधानका लागि प्रयास

0

आर्थिक तथा राजनीतिक संकट समाधानका लागि पुनः वार्ता गर्न मादुरो र गुएडो सहमत

एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता क्आन गुएडोबिच देशमा जारी राजनीतिक संकट समाधानको लागि वार्ता गर्न समहत भएका छन् ।

दुई पक्षबिच लामो समयदेखि जारी राजनीतिक संकट समाधानका प्रयास स्वरुप पुनः वार्ता सुरु गर्ने सहमति भएको वार्ताबारे जानकार रहेका तीन निकटका व्यक्तिकालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । वार्ताको स्थान भने तय नभएको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसअघि राष्ट्रपति मादुरो र विपक्षी नेता गुएडो पक्षबिच ओस्लोमा वार्ता भएको थियो । वार्ता बार्बाडोसमा हुने सम्भावना पनि छ । वार्ता आउँदो हप्ता सुरु हुने दुई व्यक्तिले बताएको रोयटर्सको खबरमा उल्लेख छ ।

नर्वेले दुवै पक्षलाई वार्ताका लागि मनाउने प्रयास गर्दै आएको छ । नर्वेकै प्रयासमा ओस्लोमा गएको मे मा वार्ता भएको थियो र त्यसमा कुनै सहमति हुन सकेन ।

दुवै पक्ष आफ्नो अडानमा कायम रहेका कारण सो वार्तामा भेनेजुएलामा जारी आर्थिक तथा राजनीतिक संकट समाधानका लागि कुनै सहमति हुन सकेको थिएन ।


जारी आर्थिक तथा राजनीतिक संकटका कारण हालसम्म ४० लाख भन्दा बढी नागरिक भेनेजुएलाबाट बिस्थापित भएका छन् । मादुरो र गुएडोका प्रतिनिधिबिच वार्ताको तयारीका लागि वार्ता भएको जनाइएको छ ।

गुएडोले गएको शुक्रबार ट्वीट गरेर आफूलाई समर्थन गर्दै आएका सहयोगीहरुबाट पनि नयाँ चरणको वार्ताका लागि साथ प्राप्त भएको उल्लेख गरेका थिए । तर उनले त्यसबारे थप केही खुलाएका छैनन् ।

गएको जनवरीमा गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । मादुरोका कारण देशको आर्थिक अवस्था सखाप भएको विपक्षीको आरोप छ ।

मादुरोले भने अमेरिकाको स्वार्थमा विपक्षी फसेको बताउँदै आएका छन् । आर्थिक तथा राजनीतिक संकटको चपेटामा भने सर्वसाधारण नागरिक परेका छन् ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।

आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।

विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

Leave A Reply

Your email address will not be published.