कञ्चनपुरमा सत्तारूढ दल र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

0

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताधारी नेकपाका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाका पुनर्वास र बेलौरी नगरपालिकाको नगरसभा उद्घाटन गर्न धनगढी हुँदै डोकेबजार भएर कञ्चनपुर आउन लागेकी खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन पुगेका कांग्रेसका नेता, कार्यकर्ता र नेकपाका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा दुवै पक्षका सात जना घाइते भएका छन् । कांग्रेस क्षेत्र नम्बर-१ का पूर्व सभापतिसमेत रहेका कांग्रेस नेता हरेन्द्र विष्ट (होसियार)ले आफूसहित चार जना कार्यकर्ता घाइते भएको जानकारी दिएका छन् । उनका अनुसार घाइते हुनेमा विक्रम चन्द, कृष्ण बहादुर चन्द र कांग्रेस क्षेत्र नम्बर-१ का सभापति गोपी प्रशाद उपाध्याय रहेका छन् ।

यस्तै, नेकपाले तीन कार्यकर्ता घाइते भएको जनाएको छ । नेकपाका नेता दीपक तिम्लिसिनाले झडपमा परी बल बहादुर तामाङ्ग, सुरेश अधिकारी र गुड्डु धामी घाइते भएको जानकारी दिएका छन् । दुवै पार्टीले घाईतेहरुको धनगढीका सेती अञ्चल र मायामेट्रोमा उपचार भइरहेको जनाएकाे छ ।

कांग्रेस नेता विष्टले आफ्नो क्षेत्रमा भारतीय हस्तक्षेपदेखि हावाहुरी पीडितका लागि केही नगरेको आरोप लगाउँदै विरोध स्वरुप कालो झण्डा देखाउने क्रममा सत्ताधारीले आक्रमण गरेको दाबी गरेका छन् । यस्तै, नेकपाका नेता तिम्लिसिनाले मन्त्रीको स्वागतमा गएका आफ्ना नेता कार्यकर्तामाथि कांग्रेस कार्यकर्ता खनिएको आरोप लगाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे कञ्चनपुर प्रहरीले जानकारी दिएकाे छ । प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले घटनालाई लिएर नेकपा र कांग्रेस जिल्ला नेतृत्वले समेत चासो व्यक्त गरेको जनाएका छन् । उनले पार्टीको निर्देशनअनुसार कालो झण्डा देखाएकाे हो वा, हाेइन भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
 

Leave A Reply

Your email address will not be published.