लोकसेवाको आवेदन दिने एक लाख

0

काठमाडौं – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको संख्यामा उतारचढाव देखिएको छ ।

समितिले निर्देशन दिएपछि आवेदन दिनेको संख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको संख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताए ।

उनका अनुसार गत सोमबार समितिले निर्देशन दिएको दिन करिब दुई हजार पाँच सयले मात्र आवेदन दिएकामा अहिले भने त्यो संख्या वृद्धि भएको छ । ‘समितिले निर्देशन दिएको केही दिनसम्म आवेदन दिनेको संख्यामा कमी आएको थियो’, उनले भने, ‘तर अहिले भने पहिल्यैकै जस्तै आवेदन आउन थालेका छन् । आवेदन दिने समय सकिन थालेकाले आवेदन दिनेको संख्यामा वृद्धि भएर सर्भरको चापसमेत बढेको छ ।’

समितिले निर्देशन दिएको दिनसम्म करिब ५१ हजार चार सय ६३ जनाले आवेदन फाराम भरेकामा अहिले फाराम भर्न पाँच दिनमात्र बाँकी छँदा एक लाख १८ हजार तीन सय ४१ जनाले मात्र आवेदन फाराम भरेका छन् । आवेदन खुला गरेको १५ दिन बितिसक्दा पनि सोचेअनुसारको आवेदन नआएको उनको भनाइ रहेको छ ।

उनका अनुसार आवेदन दिनेमा महिला २९ हजार दुई सय ६७, जनजाति १३ हजार साथ सय ५१, मधेशी ६ हजार सात सय ३२, दलित आठ सय ४४, अपांगता ५६ र पिछडिएका ३७ जना रहेका छन् । गत जेठ १५ गतेदेखि असार तीन गतेसम्मका लागि पाँच सय १५ स्थानीय तहका लागि आयोगले विभिन्न नौ हजार एक सय ६१ पदका लागि आवेदन माग गरेको छ । आवेदन फाराम भरेकामध्ये करिब ४० हजार पाँच सयले दस्तुर बुझाएका छन् ।

एकैपटक धेरेको संख्यामा कर्मचारीको माग गरेकाले आयोगले करिब पाँचदेखि छ लाख परीक्षार्थीले आवेदन दिनसक्ने आँकलन गरेको थियो । उनले अझै केही दिन आवेदन दिने समय भएकाले संख्या वृद्धि हुनसक्ने बताए । समितिले मंगलबार नै विज्ञापन रोक्न निर्देशन दिएको पत्र आयोगमा पठाए पनि आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली मुलुक बाहिर रहेकाले समय लाग्ने आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

अध्यक्ष बाहिर रहेको आयोगका पदाधिकारीको पूर्ण बैठक बस्न नसक्ने भएपछि समितिले पठाएको पत्रबारे निर्णय गर्न ढिलाइ हुने उनले बताए ।

Leave A Reply

Your email address will not be published.