ओलीको टुक्काजस्तै हावादारी बजेट

0

काठमाडौं । विकास खर्चभन्दा साधारण खर्च दोब्बर हुनेगरी सरकारले शनिबार बजेट जारी गरेको छ । विकास खर्च यति न्यून रूपमा विनियोजन गरिएको विकृतिपूर्ण बजेट मुलुककै इतिहासमा पहिलोपल्ट आएको अर्थविज्ञहरू बताउँछन् । कुल १० खर्ब ४८ अर्ब रुपैयाँ बजेटमध्ये ६० प्रतिशत अर्थात् ६ खर्ब १७ अर्ब साधारण खर्च र २९ प्रतिशत अर्थात् तीन खर्ब ११ अर्ब रुपैयाँ विकास खर्च विनियोजन गरिएको छ ।
विकास खर्चका लागि २९ प्रतिशत विनियोजन गरिए पनि त्यो रकम कहाँबाट कसरी आउँछ भन्ने भरपर्दो आधार दिइएको छैन । राज्यको आम्दानीले साधारण खर्चसमेत नधान्ने गरी बजेट ल्याइएको छ । राज्यको आम्दानी पाँच खर्ब ६६ अर्ब हुने अनुमान गरिएको छ भने साधारण खर्च ६ खर्ब १७ अर्ब विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको अनुमानभन्दा करिब एक खर्ब रुपैयाँ बढी राजश्व संकलन हुने लक्ष्य राखिएको छ । यो लक्ष्य पूरा नै हुन नसक्ने विश्लेषण एमालेकै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको छ । यदि यो लक्ष्य पूरा भएछ भने पनि मुलुकको आम्दानीले कर्मचारीको तलबभत्ता तथा सामाजिक सुरक्षाका लागि समेत रकम अपुग हुन्छ ।  त्यसैले विकास खर्चका लागि भनिएको तीन खर्ब १२ अर्ब रुपैयाँ कसरी आउँछ ? त्यसको स्रोत छैन ।
विकास खर्चका लागि छुट्याइएको तीन खर्बमध्येभित्रै भूकम्पबाट भत्केका संरचना पुनर्निर्माणका लागि छुट्याइएको करिब डेढ खर्ब रुपैयाँ पनि पर्छ ।  वास्तविक विकास बजेट भनेको डेढ खर्ब रुपैयाँको हाराहारीमा हो । मुलुकको अवस्था राम्रो भएको बेलामा समेत विकास बजेट ८० प्रतिशतभन्दा माथि खर्च हुन नसकेको नजिर छ । त्यसैले, अर्थशास्त्रका विज्ञहरूले यो बजेटलाई हावादारी र इतिहासकै कलंकपूर्ण बजेट भनेका छन् । जबकि चालू आर्थिक वर्षका लागि छुट्याइएको आठ खर्ब १९ अर्ब रुपैयाँमध्ये सात खर्ब एक अर्ब रुपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको छ ।  सामाजिक सुरक्षा भत्ता दोब्बर, कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाइएका कारण र पेट्रोलियमको मूल्य पनि बढाइएको कारण महँगी कम्तीमा १५ प्रतिशत बढ्ने अर्थविद्हरूको दाबी छ । हावा फुकेर बेलुन ठूलो बनाइएजस्तै बजेटको आकार पनि ठूलो बनाएर आगामी चुनावमा बाजी मार्ने एमालेको रणनीतिअनुसार बजेट आएको विश्लेषण अर्थविद्हरूको छ ।
बजेट हावादारी भएको प्रतिक्रिया दिएका छन् संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र थादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले । मुलुकको आर्थिक बृद्धिदर नकारात्मक विन्दुमा पुग्न लागेको बेला वितरणमुखी बजेट आएको भन्दै यादवले जनतालाई बेवकुफ बनाउने बजेट आएको बताएका छन् । हावादारी प्रधानमन्त्रीको हावादारी बजेट ।’ संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भने, ‘हुलाकी सडकको कुरा गरेको ३० र ४० वर्ष भइसक्यो, फास्ट ट्र्याकको कुरा गरेको छ, फास्ट ट्र्याक बनाउने क्षमता छ यो सरकारसँग ?’

Leave A Reply

Your email address will not be published.