अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा

0

काठमाडौं । पच्चीस सय साठिऔँ बुद्ध जयन्तीको अवसर पारेर सरकारले आगामी बिहीबार र शुक्रबार राजधानीमा आयोजना गर्ने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘नेपाल ः भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी, विश्वका विभिन्न मुलुकबाट आउने उच्चप्रतिनिधि, बौद्ध भिक्षु, विद्वत्को स्वागत, आवास एवम् व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको सम्मेलन आयोजक समितिको सचिवालयले जनाएको छ ।
आइतबार मध्याह्नसम्म थाइल्यान्ड र श्रीलङ्काबाट मन्त्रिस्तरीय प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिने सुनिश्चित भएको तथा अन्य मुलुकबाट पनि उच्चस्तरीय प्रतिनिधिमण्डल आउने सूचना प्राप्त भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिनुभयो ।
“चौतिस मुलुकका संस्कृतिमन्त्री, बौद्ध भिक्षुलगायत बौद्ध धर्मका जानकार विद्वान् विदुषीलगायत ४०० जनालाई निमन्त्रणा गरेका छौँ, केहीबाट ‘कन्फर्मेसन’ प्राप्त भइरहेको छ,” सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएका सबैको पूर्ण सूची तयार भइनसकेको जानकारी दिँदै उहाँले भन्नुभयो ।
चीन, भारत, भुटान, अमेरिका, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, अष्ट्रियालगायत मुलुकका विशिष्ट व्यक्तिलाई सम्मेलनमा सहभागी हुन सरकारले आमन्त्रण गरेको थियो । सम्मेलनमा सर्वाधिक सहभागी चीनबाट हुन लागेको सचिवालयले जनाएको छ । दुई सयको हाराहारीमा चिनियाँ प्रतिनिधिले सम्मेलनमा भाग लिने बताइएको छ ।
उहाँका अनुसार राजधानीमा दुईदिने सम्मेलन समाप्त भएपछि आगामी शनिबार लुम्बिनीमा आयोजना हुने २५६०औँ बुद्धजयन्ती समारोहमा पनि विदेशी पाहुना र विशिष्ट व्यक्तिलाई सरिक गराइने छ । उक्त समारोहको तयारी तथा आवश्यक निर्देशन दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल नेतृत्वको उच्च टोली आज लुम्बिनी पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त समारोहको समुद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुने अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डललाई सहयोग गर्न सरकारले आगामी बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहायता कक्ष सञ्चालन गर्ने पनि सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.