सरकार परिवर्तनको आवश्यकता छैनः नेताहरु

0

काठमाडौं । वर्तमान सरकार परिवर्तनको कुनै आवश्यकता नरहेको नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेकोे साक्षात्कारमा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सरकार परिवर्तनको कुनै आवश्यकता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार परिवर्तनको कुरा गरेर मुलुकलाई अस्थिरतामा लानु हुँदैन ।”
नेत्री कोइरालाले प्रजातन्त्रलाई बलियो बनाउनका लागि भएपनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेकाले तत्काल कानुन निर्माण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिँदै काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टी निर्वाचनसँग डराउन नहुने बताउनुभयो ।
उहाँले संविधान निर्माण भइसकेको अवस्थामा जनताले आन्दोलन नचाहेको भन्दै आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । नेत्री कोइरालाले आफ्नो पार्टी नेपाली काँग्रेसले सरकारका राम्रा कामको प्रशंसा र नराम्रो कामको खबरदारी गर्दै जानुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)का नेता रघुविर महासेठले देश संक्रमणकालीन अवस्थामा रहेकाले वार्ता र सम्बादबाट मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि दलका नेताले आफ्नो व्याक्तिगत र दलीय स्वार्थ छाडेर एकठाँउमा उभिनुपर्छ ।”
नेता महासेठले नेपाली काँग्रेसका नेताहरुको भनाईप्रति लक्षित गर्दै फास्टट्रयाक नेपालीले बनाउन सक्दैनन् भन्ने कुरा झुट भएको बताउनुभयो । एनेकपा (माओवादी)का नेता प्रभु शाहले निर्माण भएको संविधानलाई वार्ता र सम्बादबाट कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसी पनि नेपाली जनता नै हुन् उनीहरुका जायज मागलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ ।”
नेकपा (माओवादी)का संयोजक मातृका यादवले मधेसलाई अधिकार नदिएसम्म मुलुकमा विकास र संविधानको कार्यान्वयन सम्भव नहुने दाबी गर्नुभयो । उहाँले मधेस अहिलेपनि राष्ट्रविहिन अवस्थामा रहेको भन्दै मधेसलाई समेटेर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो । मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले राष्ट्रियता बलियो भएमात्र भातृत्व, प्रेम, अखण्डता, बलियो हुने बताउनुभयो । उहाँले मधेसी जनताको मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.