राजनीतिक निर्णय हो, मेरो भन्नु केही छैन : उपाध्याय

0

काठमाडौं । भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिनुभएको छ । सरकारको निर्णयअनुसार आज स्वदेश फर्कनुभएका राजदूत उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको बताउनुभयो ।
राजदूत पदमा १३ महिना पाँच दिन बिताउनुभएका राजदूत उपाध्यायले पदमा रहँदा भारतीय सिमानामा उत्पन्न आपूर्तिको असहज अवस्थालाई सामान्य बनाउन सक्दो प्रयास गरेको बताउनुभयो ।
फिर्ता बोलाएको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मलाई फिर्ता बोलाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै कारण खुलाएको छैन ।”
पदमा रहँदा आफूबाट कुनै गल्ती नभएको स्पष्ट पार्दै उहाँले त्यस सम्बन्धमा सार्वजनिक भएका हल्ला भ्रम मात्र हुन् भन्नुभयो । उहाँले सरकारप्रति आफ्नो पूर्ण सम्मान रहेको र कुनै मर्यादा उल्लङ्घन नगरेको बताउनुभयो ।
अबको जीवन कसरी अघि बढ्छ भन्ने एक जिज्ञासामा उहाँले भन्नुभयो, “साथीभाइसँग सल्लाह गरेर अघि बढ्छु ।” राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी पूरा भएको र अन्तिम समयमा आएर स्थगन हुनु दुःखद भएको बताउँदै उहाँले एक–दुई घटनाले नेपाल–भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने जिकिर गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.