नौं बुँदे सहमतिले शान्ति प्रकृया पूरा हुन्छ : नारायणकाजी

0

काठमाडौं । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा सरकारले तत्परता नदेखाएका कारण आफूहरुले राष्ट्रिय सहमतिको सरकारको विषय उठाएको बताउनुभएको छ ।
आफ्नै निवास हात्तीवन, ललितपुरमा आज पत्रकार सम्मेलन गरी उहाँले भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय समस्याको समाधान तथा तराई–मधेसमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नेतर्फ सरकार जुन गम्भीरताका साथ लाग्नुपथ्र्याे, त्यो नहुनु दुःखद हो भन्नुभयो ।
सरकारको नेतृत्वकर्ता नेकपा(एमाले) र आफ्नो पार्टीबीच पछिल्लो पटक भएको नौबुँदे सहमतिले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र थाँती रहेका राष्ट्रिय समस्या समाधान गर्ने विश्वास व्यक्त गर्दै उहाँले कुनै पनि बहानामा कुनै पनि दल भाग्न नपाउने स्पष्ट पार्नुभयो ।
नेपालको परराष्ट्र नीति दुवै छिमेकी मुलुकसँग समान सम्बन्ध राखेर अगाडि बढ्ने उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले विदेशीको अनावश्यक चलखेल बढेकाले त्यसलाई रोक्न सुझबुझपूर्ण निर्णय गरिएको बताउनुभयो । कार्यतालिका तयार गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न प्रमुख सत्तारुढ दलबीच सहमति भएको उहाँको कथन थियो ।
राष्ट्रिय सहमतिको कुरा गर्दा कुनै दलले अर्कोलाई धोका दियो भन्नु तथा आरोप प्रत्यारोप गर्नु पूर्णतः गलत भएको जनाउँदै उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय सहमति मुलुकको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.