दाहाल नआएपछि तीन दलको बैठक स्थगित

0

काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नभएपछि प्रमुख तीन दलको बैठक शनिबार स्थगित भएको छ। दिवंगत नेता पुष्टबहादुर बोगटीको स्मृति सभामा भाग लिन नुवाकोट पुगेका दाहालले काठमाडौं आइपुग्न ढिला हुने जनाएपछि बैठक स्थगित गरिएको हो।

साँझ साढेछ बजेपछि मात्र काठमाडौं आइपुग्ने नेताहरुलाई जानकारी गराएपछि तीन दलीय बैठकमा सहभागी हुन कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलसहित दोस्रो तहका नेता सिंहदरबार पुगेका पुगेका थिए। तीन दलीय बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो।

दाहाल काठमाडौं आउन ढिला हुने भएपछि आइतबार बिहान ८ बजे तीन दलको बैठक बस्ने गरी सिंहदवार पुगेका नेताहरु फर्केका थिए। ‘पोष्टबहादुर बोगटीको स्मृतिसभामा सहभागी भएर प्रचण्डजी काठमाडौं आइपुग्न समय लाग्ने भएकाले आज (शनिबार) बैठक भएन,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘आइतबार बिहान ८ बजे बैठक बस्छ।’

दाहाल आउन ढिला हुने भएपछि दोस्रो तहका नेताहरुले एमाले अध्यक्ष केपी ओलीलाई पनि बैठक नहुने जानकारी गराएका थिए। व्यवस्थापिका संसदको जारी गतिरोध अन्त्यका विषयमा दलीय सहमति खोज्न तीन दलीय बैठक राखिएको थियो। बैठक आइतबार बिहान ८ बजे राज्यव्यवस्थाको हलमा बस्नेछ।

त्यसअघि शनिबार बिहान संसद अवरोध हटाउने विषयमा कांग्रेस र एमालेको छुट्टै बैठक भएको थियो। एमाले अध्यक्ष केपी ओलीको निवासमा भएको दुई दलीय बैठकमा एकीकृत माओवादीसँग सबै विषयमा खुल्ला छलफल गर्ने निष्कर्ष निकाले थिए।

संसदको बैठक सञ्चालनको विषयमा खुल्ला छलफल भएपनि निष्कर्षमा पुगी नसकेको बताउँदै कांग्रेस सहमहामन्त्री खड्काले आइतबार बिहान बस्ने तीन दलीय बैठकले सहमतिको आकार लिनसक्ने बताए।

दलहरुबीच संविधानका अन्तर्वस्तुतमा रहेका असहमतिका विषयमा पनि दुई दलबीच छलफल भएको थियो।

Leave A Reply

Your email address will not be published.