बार अध्यक्षमा केसीको अग्रता कायमै

0

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अहिले भइरहेको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार शेरबहादुर केसीको अग्रता कायमै रहेको छ । प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार अहिलेसम्म गणना भएको एक हजार ९०५ मतमा केसीले ९९७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले ८५० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, महासचिवमा खम्बबहादुर खातीले ९२५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी दीनमणि पोखरेलले ८४८ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा ज्ञानरत्न शाक्यले ९२९ मत र उहाँका प्रतिस्पर्धी हरिबहादुर खड्काले ८१९ मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म २४ निर्वाचन केन्द्रको मतगणना सकिएको बताइएको छ । बारको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना मङ्गलबार बिहानदेखि सुरु भएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रमा मतदान कार्य सम्पन्न भएको थियो ।
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । कुल मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको बताइएको छ ।

बाह्र स्थानबाट मतगणना
सर्वोच्च अदालतको परिसरमा आठ स्थानबाट मतगणना हुँदा ढिला हुने भएकाले आज थप चार स्थान गरी १२ स्थानबाट मतगणना सुरु गरिएको छ ।
बिहीबार बेलुकीसम्म पूर्ण नतिजा प्रकाशन गर्न थप चार स्थानबाट मतगणना सुरु गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.