छिमेकी उत्ताउलो भयो : थापा

0

गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेर उत्ताउलोपना देखाएको बताउनुभएको छ । असन्तुष्ट मधेसी, थारुलगायत समुदायलाई संविधान संशोधन गरेर हक, अधिकार दिइने भन्दै थापाले छिमेकीको उत्ताउलोपना आवश्यक नभएको टिप्पणी गर्नुभएको छ ।
नेपाल स्वास्थ्यकर्मी सङ्घ गोरखाले छेवेटारमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भन्नुभयो – “हामी हाम्रो घर मिलाउन सक्षम छौँ । छिमेकीले उत्ताउलोपना देखाउनुपर्दैन ।” जारी भएको संविधान कार्यान्वयन काँग्रेसको प्रमुख प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
“संविधानप्रति असन्तुष्टि र आक्रोश देखिएको छ । मधेसी, थारुलगायत समुदायलाई चित्त बुझाएर मात्रै हामी अघि बढ्छौँ” – थापाले भन्नुभयो । काँग्रेस सरकारमा जान हतार नगर्ने भन्दै उहाँले संविधानको कार्यान्वयन गर्दै आउँदो २०७४ माघ ७ भित्र स्थानीय, प्रान्त र केन्द्रको निर्वाचन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
विप्रेषणले मुलुक धानिएको भन्दै उहाँले जनताको आर्थिक स्तर परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । “भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले देशको अर्थतन्त्र डामाडोल भयो”, उहाँले भन्नुभयो – “जनताको जिन्दगी परिवर्तन गर्नुपर्छ ।”

Leave A Reply

Your email address will not be published.