बारको मतदान सुरु

0

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भर्रखरै मतदान सुरु भएको छ । बिहान ८ः१५ बजेदेखि देशैभरका ३३ मतदान केन्द्रमा मतदान सुरु भएको बारको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिनुभयो । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।
पदाधिकारीसहित २५ नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ । कूल मतदाता सङ््ख्या नौ हजार ५२२ छ । विजयकान्त मैनालीले नेतृत्व गर्नुभएको प्रगतिशील र शेरबहादुर केसीले नेतृत्व गर्नुभएको लोकतान्त्रिक पक्षबीच प्रतिस्पर्धा हुँदैछ ।
दुवै समूहले छुट्टाछुट्टै प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । लोकतान्त्रिक समूहले व्यावसायिक हकहित, सम्मान र सुरक्षा, प्राज्ञिक तथा व्यावसायिक क्षमता विकासको अभिवृद्धि, स्वतन्त्र र सक्षम न्यायपालिका, अन्तर्राष्ट्रिय सहभागिता र सहकार्य, विकासवादअनुरुपको ऐननियमको निर्माण, भ्रष्टाचारविरुद्धको साझा अभियानलगायत प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रगतिशील पक्षले आफ्ना प्रतिबद्धतापत्रमा संविधान कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने, स्वतन्त्र न्यायपालिका, सक्षम र जवाफदेही न्यापालिकाको सृदृढीकरणका लागि निरन्तर क्रियाशील रहने, न्यायपालिकामा हुने भ्रष्टाचार नियन्त्रण गर्ने, पेसागत सुरक्षा तथा व्यवसाय विस्तार गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सुदृढीकरण गर्नेलगायत विषयमा उल्लेख गरेको छ ।
उम्मेदवार
बारको नयाँ कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा मैनाली, उपाध्यक्षमा पूर्वाञ्चलबाट टङ्क उप्रेती, मध्यमाञ्चल (उपत्यका बाहिर)बाट रामसहाय राय यादव र रमेश बडाल (उपत्यका), पश्चिमाञ्चलबाट गुमानसिंह अर्याल, मध्यपश्चिमाञ्चलबाट शालिकराम सापकोटा र सुदूरपश्चिमाञ्चलबाट कलानन्द उपाध्याय र महिलामा उषा मल्ल पाठक रहनुभएको छ । त्यस्तै महासचिवमा दीनमणि पोखरेल र कोषाध्यक्षमा हरिबहादुर खड्का उम्मेदवार हुनुहुन्छ ।
सदस्य खुलाबाट विष्णुमाया भुसाल, कृष्ण आङ्दम्बे लिम्बू, चूडामणि पौडेल, मङ्गल महर्जन, भीषण राई, नरबहादुर खड्का (नरेश), भूपेन्द्र पोखरेल, जनजातिबाट (उपत्यका बाहिर) रामकुमार श्रेष्ठ, जनजाति (खुला)बाट रामसुन्दर श्रेष्ठ, मधेसी (उपत्यका बाहिर)बाट मधुर पाठक, मधेसी (खुल्ला)बाट विनोद यादव, दलितबाट दुर्गाबहादुर विक, महिला (उपत्यका बाहिर)बाट शान्ति मोदी, महिला खुलामा कविता शाह र उपत्यका बाहिरमा दलबहादुर धामी रहनुभएको छ ।
लोकतान्त्रिक समूहका अध्यक्षमा केसी, पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का, मध्यमाञ्चल उपाध्यक्षमा विनय सिंह, काठमाडौँ उपत्यका उपाध्यक्षमा मोतीराज गौतम, पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त, मध्यपश्चिमाञ्चलमा रेवतीरमण भट्टराई, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा गङ्गाराम पाध्य र महिला उपाध्यक्षमा शान्ता सेढाईँ सापकोटाले उम्मेदवारी दिनुभएको छ ।
यसैगरी महासचिवमा खम्मबहादुर खाती र कोषाध्यक्षका लागि ज्ञानरत्न शाक्यको उम्मेदवारी रहेको छ ।
यस्तै सदस्य पदका लागि दलितबाट श्यामकुमार विश्वकर्मा, मधेसी÷मुस्लिम खुलाबाट रमणकुमार कर्ण, मधेसी÷मुस्लिम काठमाडौँ उपत्यका बाहिरबाट अनिल साह, आदिवासी जनजाति खुलाबाट अस्मिनकुमार राई, आदिवासी जनजाति काठमाडौँ उपत्यका बाहिरबाट हरिनारायण चौधरी, महिला खुलाबाट सानुमैयाँ महर्जन, महिला काठमाडौँ उपत्यका बाहिरबाट इन्दु कोइराला र उपत्यका बाहिर खुलाबाट पदमकुमार शाहीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
खुलाबाट सदस्यका लागि ज्ञानेन्द्र अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, शुकदेव काफ्ले, इन्द्रबहादुर अधिकारी र खड्गबहादुर बुढाथोकी (सुवास) ले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन कहाँ कहाँ
बारको नयाँ कार्यसमितिको निर्वाचनमा लागि देशभर ३३ निर्वाचन केन्द्र तोकिएको छ । मतदान केन्द्रमा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, उदयपुर, सिरहा, धनुषा, सर्लाही र काठमाडौँ छन् ।
त्यस्तै मकवानपुर, चितवन, पर्सा, बारा, रौतहट, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, नवलपरासी, रुपन्देही, दाङ (तुल्सीपुर र घोराही), बर्दिया, बाँके, सुर्खेत, डोटी, कैलाली र कञ्चनपुरमा निर्वाचन केन्द्र तोकिएको छ ।
पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ । नौ हजार ५२२ मतदाता छन् ।

निर्णायक मत काठमाडौँ केन्द्रमा
बारको नयाँ कार्यसमिति निर्वाचनमा तोकिएका निर्वाचन केन्द्रमध्ये काठमाडौँ निर्वाचन केन्द्रमा पाँच हजार ८६२ मत रहेको छ । कुल मतदाता नौ हजार ५२२ छन् ।
काठमाडौँपछि कास्की केन्द्रमा ४१९ मत, बाँके केन्द्रमा २८६, मोरङ केन्द्रमा २४५, सप्तरी केन्द्रमा २२७, सुनसरी केन्द्रमा १७६, चितवन केन्द्रमा १६४, धनुषा केन्द्रमा १६३, रुपन्देही(बुटवल) केन्द्रमा १५९, पर्सा केन्द्रमा १३९, झापा र रुपन्देही केन्द्रमा १३३ छन् । अन्य केन्द्रमा त्यसभन्दा कम मतदाता सङ्ख्या रहेको छ ।

Leave A Reply

Your email address will not be published.