प्रधानमन्त्री ओलीद्वारा सार्क मन्त्रिपरिषद् बैठक उद्घाटन

0

पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक पोखरामा सुरु भएको छ । बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नेपालको राष्ट्रिय गान बजाएर सुरु भएको बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले मन्तव्य व्यक्त गर्दै सार्क मुलुकलाई एकताको सूत्रमा आबद्ध गर्न सार्क क्रियाशील रहेको बताए ।
बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसल मोहम्मद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी छन् ।
बैठकको उद्घाटन समारोहमा नेपालको मन्त्रिपरिषद्का वरिष्ठ सदस्य, सांसद, आठवटै सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सचिव तथा उच्च पदस्थ अधिकारी उपस्थित छन् । ३७ औं मन्त्रिपरिषद्का अध्यक्ष एवम् परराष्ट्रमन्त्री थापाले स्वागत मन्तव्य व्यक्त गर्दै जल, स्थल र वायु मार्गबाट सार्क सदस्य देशलाई जोडेर व्यापार विस्तारलगायत आर्थिक उन्नयनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
सार्कको वर्तमान अध्यक्ष नेपालले सार्क मन्त्रिपरिषद्को उक्त बैठक नेपालमा आयोजना गरेको हो । बुधबार सम्पन्न सार्क स्थायी समिति बैठकले मन्त्रिपरिषदमा प्रस्तुत गरिने कार्यसूची निर्धारण गरेको थियो ।
बुधबार निर्धारण भएका कार्यसूचीमा सार्कले विगतमा गरेका निर्णयको कार्यान्वयन सदस्य राष्ट्रले स्वीकार गरेका तर कार्यान्वयन नगरेका कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नुपर्ने, निर्धारित समयमा नै सार्कका गतिविधि पूरा हुनुपर्नेलगायत छन् ।
स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ भने १९औँ शिखर सम्मेलन आगामी नोभेम्बरमा पाकिस्तानमा गर्ने प्रस्ताव भएको छ ।
बैठकमा सार्कका विद्यमान गतिविधि, जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधिलगायतका विषय केन्द्रित छन् ।

Leave A Reply

Your email address will not be published.