नेकाँमा सभापतिसहित सुदूरका ६ जिल्लाको प्रतिनिधित्व

0

भीमदत्तनगर । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट सुदूरपीश्चमले नेतृत्वदायी भूमिका पाउनुका साथै यहाँका नौ जिल्लामध्ये छवटा जिल्लाको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व भएको छ । लामो समय पार्टी राजनीतिदेखि सरकार सञ्चालनका अनुभव बटुलेका डडेल्धुरा घर भएका शेरबहादुर देउवा काँग्रेसको सभापतिमा निर्वाचित हुनुभयो । सभापति पदमा उहाँले अर्का नेता रामचन्द्र पौडेललाई पराजित गर्दै काँग्रेसको इतिहासमा पहिलोपटक सुदूरपश्चिमबाट नेतृत्वमा पुग्ने पहिलो व्यक्तिसमेत देउवा हुनुभयो । देशको जेठो तथा सबैभन्दा ठूलो पार्टीको सभापति सुदूरपश्चिमले पाएपछि हरेक कोणबाट पिछडिएको सुदूरपश्चिमको विकासको गतिले तीव्रता पाउनेमा यहाँका स्थानीयवासी आशावादी छन् । देउवालाई सुदूरपश्चिममा विकासवादी नेताका रुपमा पनि हेरिने गरेको छ ।
त्यसैगरी, काँग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएर नेताद्वय रमेश लेखक र नारायणप्रकाश साउदले कञ्चनपुरको प्रतिनिधत्व काँग्रेस केन्द्रीय समितिमा गर्नुभएको छ । कञ्चनपुर क्षेत्र नं ४ बाट संविधानसभामा निर्वाचित नेता तथा सांसद लेखक काँग्रेस केन्द्रीय समितिमा नयाँ अनुहार हुनुहुन्छ भने पूर्वमन्त्रीसमेत रहेका नारायणप्रकाश साउद यसअघि पनि केन्द्रीय समितिमा हुनुहुन्थ्यो ।
तेह्रौँ महाधिवेशनमा २५ जना खुला केन्द्रीय सदस्यका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा नेता लेखक एक हजार ६८९ मत ल्याउँदै ९औँ स्थानमा र यसअघि १०औँ स्थानमा रहेका साउद एक हजार ५४७ मत प्राप्त गरी १७औँ स्थानमा निर्वाचित हुनु भएको छ ।
त्यसैगरी, सुदूरको विकट पहाडी जिल्ला बाजुरा घर भएका बद्री पाण्डे पनि खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएर बाजुराको उपस्थिति काँग्रेसको केन्द्रीय समितिमा देखाउन सफल हुनु भएको छ । एक हजार ४८५ मत पाएका पाण्डे २३औँ स्थानमा हुनुहुन्छ ।
त्यसैगरी, प्रदेशतर्फ प्रदेश नं ७ मा भारी मत ल्याएका नेता दिलेन्द्रप्रसाद बडूले काँग्रेसको केन्द्रीय समितिमा सुदूरपश्चिमको विकट पहाडी जिल्ला दार्चुलाको उपस्थिति देखाउन सफल हुनु भएको छ । एक हजार ६०२ मत ल्याएर प्रदेशहरुमा दोस्रो नम्बरमा परेका बडू पूर्व पार्टी प्रवक्ताको समेत जिम्मेवारी सम्हालिसक्नु भएको हो ।
त्यसैगरी, प्रदेशमा निर्वाचित भएका डोटीका नेता वीरबहादुर बलायर पनि सुदूरपश्चिमबाट काँग्रेस केन्द्रीय समितिमा उदाउनुभएको छ । सांसदसमेत रहनुभएका बलायर प्रदेश नम्बर ७ बाट एक हजार ३८५ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
महिला सदस्यतर्फ कैलाली काँग्रेसकी नेत्री ईश्वर न्यौपाने केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । कैलाली काँग्रेसका नेता तथा सांसद पुष्करराज ओझा केन्द्रीय समितिमा खुलातर्फको सदस्य पदमा पराजित हुनुभएको छ । ओझाले सदस्य पदमा ७४० मत प्राप्त गर्दै ४०औँ स्थानमा चित्त बझाउनुप¥यो ।
त्यसैगरी, बैतडी काँग्रेसका नेता तथा सांसद विनयध्वज चन्दले ४४३ मत खुला केन्द्रीय सदस्यमा पाएर ५४ स्थानमा झर्नुभयो । कञ्चनपुर काँग्रेसका सभापति एवम् सांसद बहादुर सिंह थापा, कैलालीका नेता कमलबहादुर शाह, बझाङ काँग्रेसका नन्दकृष्ण जोशी लगायतका नेताहरु निर्वाचनमा पराजित भएका छन् । काँग्रेस केन्द्रीय समितिमा देशभरका ३५ जिल्लाको प्रतिनिधित्व भएकामध्ये ६ जिल्ला सुदूरपश्चिमका रहेका छन् ।

Leave A Reply

Your email address will not be published.