काँग्रेसको समूहगत उम्मेदवारी घोषणा भोलि

0

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि भोलि विभिन्न समूहहरुले समूहगत रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । सभापतिमा चार जनाले उम्मेदवारी दिने र उनीहरुले आ–आफ्नो समूहसहित भोलि उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।
पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेल नेतृत्वको समूहले भोलि अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सबै पदाधिकारीका लागि आफ्नो समूहबाट उम्मेदवारी दिनेको नामावली घोषणा गर्न लागेको छ । पौडेलको समूहले महामन्त्रीमा शाशांक कोइरालालाई उम्मेदवार बनाउने भएको छ भने कोषाध्यक्षको अझै निर्णय हुन बाँकी रहेको छ ।
पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले भोलि दिउँसो ४ बजे उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ । सिटौला समूहले महामन्त्रीमा गगन थापालाई उम्मेदवार बनाउने बताएको छ भने कोषाध्यक्षको उम्मेदवार निश्चित भइनसकेको जनाएको छ ।
सिटौला समूहले बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर आफ्नो समूहको उम्मेदवारी घोषणा गर्न लागेको हो । त्यसैगरी अर्की नेत्री सुजाता कोइरालाले पनि भोलि दिउँसो १ बजे समूहसहित उम्मेदवारी घोषणा गर्ने दाबी गर्नुभएको छ । उहाँले निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नामावली आफ्नै निवास मन्डीखाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुहुने भएको छ ।
पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको समूहले भने भोलि नै उम्मेदवारी घोषणा गर्ने सम्भावना न्यून रहेको छ । देउवा समूहले अन्य नेताको उम्मेदवारी घोषणा सकिएपछि मात्रै पर्सी उम्मेदवारी घोषणा गर्ने रणनीति बनाएको छ । देउवा समूहबाट पनि महामन्त्री र कोषाध्यक्षको समेत उम्मेदवारी घोषणा हुने देउवा निकट नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । भोलि अन्य केही नेताले पनि पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्यका लागि यसअघि पनि धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.