सहकार्य गर्ने नेतृत्व छान्न काँग्रेसलाई अन्य दलको सुझाव

0

काठमाडौं ।  नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनबाट काँग्रेसले समृद्धिका लागि सहकार्यको नीति र नेतृत्व बनाउने सहयात्री दलहरुले अपेक्षा गरेका छन् । मुलुकको सबैभन्दा ठूलो पार्टी र पुरानो पार्टी हुनुको नाताले काँग्रेसले लिने नीति र छान्ने नेतृत्वले अन्य पार्टी र मुलुकलाई समेत असर पर्ने भएकाले सहकार्य गर्ने नेतृत्व छान्न धेरैले सुझाव दिएका छन् ।
संविधानको कार्यान्वयन र पुनः निर्माणमार्फत मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने कुरामा काँग्रेस नेतृत्व पछाडि प-यो भने मुलुक नै पछाडि पर्ने भएकाले काँग्रेसको नीति र नेतृत्व सबैका लागि सरोकारको विषय भएको नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवाली बताउनुहुन्छ । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निकै ठूलो भूमिका खेलेको पार्टीले आगामी दिनमा पनि नेतृत्वदायी र अग्रणी भूमिका खेल्नुपर्ने भएकाले त्यस्तै जिम्मेवार नेतृत्व छान्नुपर्नेमा जोड दिनुभयो ।
“सबै मिलेर अगाडि बढ्ने नीति र नेतृत्व ल्याओस् काँग्रेसले, सहमति र सहकार्यको बाटोलाई नछोडोस्”, ज्ञवालीले भन्नुभयो, “लोकतान्त्रिक प्रक्रियामा हुने स्वाभाविक अन्तरविरोधलाई नबढाओस्, महाधिवेशनबाट जे निचोड निस्कन्छ, त्यसलाई सबैले मानून् हाम्रो शुभेच्छा यही हो ।”एकीकृत नेकपा (माओवादी)ले पनि जनता र राष्ट्रलाई केन्द्रमा राखेर काँग्रेसले नयाँ नीति बनाउने अपेक्षा गरेको छ । साथै नेतृत्व पनि राष्ट्रवादी र सहकार्य पक्षधर होस् भन्ने एमाओवादीको चाहना छ ।
पार्टीका प्रवक्ता दीनानाथ शर्माले मुलुकलाई अग्रगामी दिशामा लैजान चाहने नीति बनोस् र त्यसलाई कार्यान्वयन गर्न सक्ने अठोट भएको नेतृत्व चयन होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । “मुलुकलाई अगाडि बढाउने सक्रियता काँग्रेसको नयाँ नेतृत्वमा अझ बढी हुनुपर्छ”, उहाँले भन्नुभयो ।
मधेसी मोर्चाका नेता महेन्द्रराय यादव भने काँग्रेसप्रति सकारात्मक देखिनु हुन्न । मधेसमा आन्दोलन भइरहनुको पछाडि काँग्रेस पनि मुख्य दोषी भएको उहाँको भनाइ छ । “काँग्रेसले लोकतन्त्रका नाममा हल्ला मात्रै गरिरहेको छ, लोकतन्त्रवादी भएको भए मधेसीको हालत अहिले यस्तो हुने थियो ?”, उहाँले प्रश्न गर्नुभयो ।
मुलुकको चौथो ठूलो दल राप्रपा नेपालले काँग्रेसको महाधिवेशनले प्रजातन्त्रलाई संस्थागत गर्न सहयोग होस् भन्ने अपेक्षा गरेको छ । पार्टीका प्रवक्ता दिलनाथ गिरीले मुलुकमा प्रजातन्त्र ल्याउन काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको भए पनि प्रजातन्त्रलाई संस्थागत गर्न नसकेकाले संस्थागत गर्नेतर्फ काँग्रेसले जोड दिनुपर्ने सुझाव दिनुहुन्छ ।
“गर्भबाटै विवाद लिएर आएको नयाँ संविधानलाई सबैको साझा संविधानका रुपमा स्थापित गर्नका लागि तीन दलीय आलोपालो प्रणालीको मानसिकता हटाउने नीति र नेतृत्व काँग्रेसमा आउनु पर्छ”, गिरीले भन्नुभयो । यही फागुन २० देखि २३ गतेसम्म हुन लागेको काँग्रेसको १३औँ महाधिवेशनलाई अन्य साना पार्टीले पनि उत्सुकतापूर्वक हेरेका छन् । उनीहरुले मुलुकमा अहिले भइरहेको सङ्कटको अन्त्य, संविधान कार्यान्वयन, पुनःनिर्माणको अभियान र सबै दलको अस्तित्वलाई स्वीकार्ने नेतृत्व काँग्रेसमा अहिले आवश्यक रहेको ठानेका छन् ।
नेपाल मजदुर किसान पार्टीको चाहना भने अरूको भन्दा फरक पाइएको छ । काँग्रेसको महाधिवशनले भारतीय हस्तक्षेप र एकाधिकारवादका विरुद्धमा उभिने अठोट गर्नुपर्ने बताउनुहुन्छ, पार्टीका नेता तथा सांसद डिल्लीप्रसाद काफ्ले । उहाँले प्रजातान्त्रिक समाजवादको सपनासहित स्थापना भएको पार्टीले आफ्नो आदर्श सिद्धान्तलाई फेरि सशक्त तरिकाले उठाउन आवश्यकता रहेकामा जोड दिनुभयो । व्यवस्थापिका¬–संसद्मा रहेका सबै दललाई काँग्रेसले भोलि खुल्ला मञ्चमा हुने उद्घाटन समारोहमा अतिथिका रुपमा आमन्त्रण गरेको छ । अधिकांश पार्टीका नेताहरुले उपस्थित हुने बताउनुभएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.