काँग्रेस महाधिवेशनको निर्वाचत कार्यक्रम प्रकाशित

0

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो २ बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गरिएको नामावलीमा दुई हजार ८६८ जनाको नाम रहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।
धनुषा क्षेत्र नं ५ बाहेक अन्य सबै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएको उहाँले बताउनुभयो । प्रकाशित नामावलीमा केही भातृ तथा शुभेच्छुक सङ्गठन र विदेशस्थित जनसम्पर्क समितिबाट आउनुपर्ने नामावली समावेश नभएको केसीले जानकारी दिनुभयो । उनीहरुको नामावली आउने क्रममा रहेकाले निर्वाचनको अन्य प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै उनीहरुको नामावली समावेश गरिने उहाँको भनाइ छ ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय भने यही फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मलाई तय गरेको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन भने भोलिपल्ट फागुन २१ गते बिहान ११ बजे हुने भएको छ ।
प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय मिलाइएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने त्यही दिन बेलुका ६ बजेसम्म गरिने भएको छ ।
उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजे देखि ११ बिहान बजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा यी सूचना प्रकाशित हुने सचिव केसीले बताउनुभयो । मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ । उहाँका अनुसार फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ । मतदान सकिएपछि उम्मेदवार र निर्वाचन समितिको संयुक्त बैठकको निर्णयअनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिले जनाएको छ ।
विद्युतीय यन्त्रबाट मतदानको व्यवस्था नहुने भएकाले मतगणनाका लागि केही दिन लाग्न सक्ने केसीले अनुमान गर्नुभयो । उहाँले प्राविधिक समस्याका कारण विद्युतीय यन्त्रमार्फत मतदानको कार्यक्रम नहुने निर्णय भएको जानकारी दिनुभयो ।
काँग्रेसको १३औँ महाधिवेशन यही फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौँमा हँुदैछ । महाधिवेशका लागि महाधिवेशन प्रतिनिधि तथा काँग्रेस नेता कार्यकर्ता काठमाडौँ आउने क्रम तीव्र भएको छ । काँग्रेस नेता तथा कार्यकर्ता काठमाडौँ आउन थालेपछि काठमाडौँमा अहिले काँग्रेसको महाधिवेशनको चहलपहल बढेको छ ।

Leave A Reply

Your email address will not be published.