साउदीमा अनलाइनबाटै राहदानी

0

साउदी अरब । साउदी अरबमा कार्यरत नेपाली कामदारले अब नयाँ राहदानी (एमआरपी)का लागि आवेदन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । रियादस्थित नेपाली दूतावासले दु्रत सेवामा पासपोर्ट उपलब्ध गराउन आइतबारदेखि लाइभ इनरोलमेन्ट सेवा सुरु गरेको छ । अब फारम भर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ । आइतबार एक कार्यक्रमबीच साउदीका लागि कावा नेपाली राजदूत आनन्दप्रसाद शर्माले पहिलोपटक सिरहाका रामकुमार महराको अनलाइन आवेदन भरेर यो सेवाको औपचारिक रुपमा सुरु गर्नुभएको हो ।
सेवाग्राही अनलाइन आवेदनका लागि रियाद नै पुग्नुपर्ने भएको छ । दूतावासले सेवाग्राहीको सहजताका लागि यसअघि दमामलगायत साउदीको विभिन्न स्थानमा सञ्चालन गरेको सेवा केन्द्र बन्द गरिने भएपछि अनलाइन सेवाका लागि रियाद पुग्नुपर्ने भएको हो । साउदीमा रहेका नेपालीले अब रियाद आएर अनलाईनमार्फत् सिधैै राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको कावा राजदूत शर्माले बताउनुभयो । शर्माका अनुसार लाइभ इनरोलमेन्ट प्रक्रियामा फोटो, विद्युतीय हस्ताक्षर र आवेदन सिधै काठमाडौँस्थित राहदानी विभागको लाइभ इनरोलमेन्ट सेन्टरमा पुग्नेछ ।
अनलाइन सेवा सुरु भएसँगै दु्रत सेवामा एमआरपी आवेदन दिने सर्वसाधारण बाहिर भिन्दै फोटो खिचाउनुपर्ने झन्झटबाट समेत मुक्त भएका छन् । साउदीमा रहेका नेपालीले यसअघि दुई महिनामा पाउँदै आएको राहादनी अब बढीमा १५ दिनभित्रै पाउन सक्ने शर्माले जानकारी दिनुभयो । यो सेवा सुरु भएसँगै साउदीमा कार्यरत नेपाली कामदार लाभान्वित भएका छन् । पाँच लाख बढी नेपाली कार्यरत साउदीमा हजारौँ नेपालीले एमआरपी बनाउन बाँकी रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.