काँग्रेसमा क्रियाशील सदस्यता नाम सच्याउन निवेदनका चाङ

0

काठमाडौं । नेपाली काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आउन १० दिनमात्र बाँकी रहँदा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता सम्बन्धमा निवेदनको चाङ लागेको छ । पार्टीले पहिलोपटक यही माघ ३ गते आफ्नो वेबसाइटमा मुलुकभरका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेसँगै पार्टी केन्द्रीय कार्यालयमा दुई दिनमा नाम छुटेका, गल्ती भएका, ठेगाना फरक परेका सम्बन्धमा सच्याउन माग गर्दै करिब २०० निवेदन परेका छन् ।
नाम सार्वजनिक गरेसँगै नयाँ नगरपालिकामा वडा परिवर्तन भएर आएका, केही जिल्लाका नाम छुट भएका र कतिपय जिल्लामा नाममा गल्ती देखिएकाले सच्याउन २०० को हाराहारीमा निवेदन परेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताउनुभयो ।
“केही जिल्लामा प्रक्रियाअनुसार आएका नामावलीमा पनि टाइप गर्ने क्रममा मानवीय कमजोरीले गल्ती भएका छन्” सचिव पराजुलीले भन्नुभयो । कतिपय निवेदन भने क्रियाशील सदस्यता लिएको १० वर्षे अवधि प्रमाणित गरी पाऊँ भनी परेका छन् । काँग्रेसमा केन्द्रीय सदस्य र जिल्ला सभापति हुन क्रियाशील सदस्यता लिएको कम्तीमा १० वर्ष पुगेको हुनुपर्ने कानुनी प्रावधान छ ।
‘‘ती निवेदनमाथि क्रियाशील सदस्यता छानबिन समितिले कारवाही गर्नुपर्ने हो, तर छानबिन समितिले सबै विवरण पार्टी सभापतिलाई बुझाइसकेको र राजनीतिक विषय भएकाले अब पार्टी नेतृत्वले गर्छ” सचिव पराजुलीले भन्नुभयो । काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हुँदैछ भने कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।
त्यस्तै कतिपय जिल्लामा नयाँ क्रियाशील सदस्यताको नामावली राख्न बाँकी रहेको पार्टी कार्यालयले जनाएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २, इलामको १ र ३, सङ्खुवासभा तथा मुगुका सबै नयाँ सदस्यता राख्न बाँकी रहेको र यही माघ १४ गते अघि नै वेबसाइटमा राखिने पार्टीले जनाएको छ । पार्टीमा १३औँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ ।

Leave A Reply

Your email address will not be published.