सार्क शिखर सम्मेलनमा उर्जा सम्झ्यौतामा हस्ताक्षर

0
चारदिशा सम्वाददाता, काठमाडौंं ।
सार्क शिखर सम्मेलनको अन्तिम दिन बिहीबार सदस्यराष्ट्रबीच सार्क ऊर्जा (विद्युत) सम्झौतामा हस्ताक्षर भएको छ। राष्ट्रिय सभागृहमा सार्क सदस्य राष्ट्रप्रमुख तथा सरकारप्रमुखको उपस्थितिमा ती देशका विदेशमन्त्रीले बहुप्रतीक्षित सार्क ऊर्जा सम्झौतामा हस्ताक्षर गरेका हुन्।
 e30763ecc61af86a88c29bf1b3589745_L
‘शिखर सम्मेलन बेला विद्युतसम्बन्धी सार्क ऊर्जा सम्झौतापत्रमा सदस्यराष्ट्रबाट हस्ताक्षर गरिएको छ,’ शिखर सम्मेलन समापन घोषणापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले भने।
ऊर्जा सम्झौतासँगै अब सार्क सदस्यराष्ट्रका व्यक्ति तथा कम्पनीले एकअर्काको देशमा विद्युत उत्पादन र बिक्रीवितरण गर्न पाउनेछन्। सम्झौताले विद्युतलाई ‘वस्तु’ का रूपमा व्याख्या गरेको छ। अन्य सरसामानको बिक्री वितरणजस्तै एक देशमा उत्पादित विद्युत व्यापारिक दृष्टिले अन्य सदस्यराष्ट्रमा बिक्री वितरण गर्न सकिनेछ। विद्युत प्रसारण लाइन भने सम्बन्धित देश र बिक्री गर्ने कम्पनीले संयुक्त रूपमा निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
‘अब कुनै सार्क सदस्यराष्ट्रमा उत्पादन भएको विद्युतलाई जोकसैले खरिद गरी अन्य सदस्यराष्ट्र पुर्याणएर बिक्री वितरण गर्न पाउँछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले भने। विद्युतको प्रचुर सम्भावना रहेको नेपाललाई यस सम्झौताले निकै फाइदा पुग्ने विश्वास गरिएको छ।
घोषणापत्रमा सार्कका सम्बन्धित संयन्त्रलाई यस क्षेत्रका विद्युत उत्पादन, प्रसारण र ऊर्जा व्यापार परियोजना पहिचान गर्नसमेत निर्देशन दिइएको छ। जलविद्युत, प्राकृतिक ग्यास, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जालगायत सबै प्रकारका ऊर्जा खोजी गर्न भनिएको छ। त्यस्तै, सार्क क्षेत्रमा ऊर्जाको बढ्दो मागलाई मध्यनजर गरी ऊर्जा संकटसम्बन्धी समस्या सम्बोधन गर्न निर्देशन दिइएको छ।
शिखर सम्मेलन सुरु हुनुअघि ऊर्जा सम्झौतासँगै सार्क मोटर–भेहिकल र सार्क रेलवे सम्झौतामा पनि हस्ताक्षर गर्ने घोषणा गरिए पनि हुन सकेन। मोटर भेहिकल र रेलवे सम्झौतापत्रमा हस्ताक्षर हुन नसके पनि ऊर्जा सम्झौता हुनु महत्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्री कोइरालाले बताएका छन्।
पाकिस्तानले सम्मेलनका बेला आन्तरिक कारण देखाउँदै मोटर भेहिकल र रेलवे सम्झौतामा हस्ताक्षर गर्न नमान्दा रोकिएको हो। सार्क अभ्यासअनुसार आठवटै सदस्य राष्ट्रले सहमति जनाए मात्र सम्झौतापत्र कार्यान्वयनमा ल्याउन सकिन्छ।
‘मोटर भेहिकल र रेलवे सम्झौताको मस्यौदा हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा सबै सदस्य राष्ट्रले स्वागत गरेका छन्। तीन महिनाभित्र सार्क यातायातमन्त्रीस्तरीय बैठक बसी मोटर भेहिकल र रेलवे सम्झौतालाई अन्तिम रूप दिने सहमति भएको छ,’ प्रधानमन्त्री कोइरालाले भनेको नागरिकन्यूज पत्रिकाले उल्लेख गरेको छ।

 

Leave A Reply

Your email address will not be published.