गम्भीर दुई बिरामीलाई जापानबाट सहयोग

0

टोकियो ।  जापानवासी नेपालीले गत एकसाताको अवधिमा दुई गम्भीर बिरामीलाई करिब रु तीन लाख ५९ हजार बराबरको जापानी येन आर्थिक सहयोग गरेका छन् । रक्तक्यान्सर पीडित काभ्रे, चपाखोरीको कुरुवासका ३२ वर्षीय दिलीप लामाको उपचारका लागि एक लाख १८ हजार ७०० जापानी येन पठाइएको हो ।
पाटन क्याम्पस स्ववियु कोषाध्यक्षसमेत रहेका लामा विगत केही समययता रक्तक्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका छन् । लामा परिवारले पठाइएको रकम गत बिहीबार बुझेको जनजाति पत्रकार महासङ्घ, जापानका शान्ता पहरीले जानकारी दिनुभयो ।
त्यस्तै गम्भीर बिरामी भई भारतमा उपचाररत नेपाली काँग्रेसका नेता उमेशजङ्ग रायमाझीको उपचारका लागि नेपाली जनसम्पर्क समिति जापानले आर्थिक सहयोग गरेको छ । जनसम्पर्क समिति जापानले सभासद् धनराज गुरुङमार्फत रु एक लाख ७४ हजार १२५ पठाएको महाधिवेशन प्रतिनिधि कपिलदेव थापाले जानकारी दिनुभयो ।
बिरामीद्वय उपचारका लागि लामो समय अस्पतालमा बस्नुपर्ने र पारिवारिक अवस्था कमजोर भएको भन्दै जापानमा रकम सङ्कलन गरी पठाइएको हो । एकसाताअघि जापान आएका पूर्वसभासद् गुरुङले गम्भीर बिरामी रायमाझीको रकम अभावमा उपचारमा समस्या भएपछि सहयोगका लागि गरिएको अनुरोधअन्तर्गत जापानका नेपाली काँग्रेसमा आबद्धहरुले उठाएको रकम बुझेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.