एक हप्ताभित्र पुनःनिर्माण प्राधिकरण

0

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पुनःनिर्माण प्राधिकरण एक हप्ताभित्र गठन भएर प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले पुनःनिर्माणसम्बन्धी विधेयक पारित भइसकेकाले अब छिट्टै पुनःनिर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।
भारतको नाकाबन्दीका कारण अहिले भएका उद्योगसमेत चल्न नसकेको भन्दै उहाँले नाका खोल्न कूटनीतिकलगायतका प्रयत्न भइरहेको बताउनुभयो । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले काँग्रेस, नेकपा एमाले र एमाओवादीको सहमतिमा पुनःनिर्माण विधेयक ल्याउँदा एमालेका केही सभासद्को अवरोधका कारण तत्कालीन अवस्थामा उक्त विधेयक पारित हुन नसकेको स्मरण गराउँदै अब पुनःनिर्माणका काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
पुनःनिर्माणसम्बन्धी योजना तर्जुमा भइसकेको बताउँदै उहाँले भन्नुभयो – “अब ती योजनाको स्वीकृति छिट्टै हुन्छ भन्ने विश्वास लिएको छु । केही व्यक्तिको गलत मनसायका कारण यो विधेयक पारित हुन समय लाग्यो तर पुनःनिर्माणका काममा भने अवरोध हुने छैन ।”
एमाओवादीका नेता दीनानाथ शर्माले पुनःनिर्माण प्राधिकरण सिइओ जो आए पनि कुनै पार्टीको कार्यकर्ताका रुपमा नभई काम राम्रोसँग गर्ने सक्षम व्यक्ति हुनुपर्छ भन्नुभयो । ठूला पार्टीले विधि नपु¥याउँदा मुलुक समस्यामा परिरहेको बताउँदै उहाँले भन्नुभयो – “मधेसका समस्यालाई पनि आन्तरिक रुपमा मिलाउन सकिन्थ्यो । मधेसले समावेशी समानुपातिक अधिकारको सुनिश्चितता, सीमाङ्कन र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न राखेको मागलाई ढिलोचाँडो सम्बोधन गर्नै पथ्र्यो, त्यसलाई मिलाउन नसक्दा अहिले समस्या परिरहेको छ ।”

Leave A Reply

Your email address will not be published.