मधेसवादी दलद्वारा बैठक बहिष्कार

0

मधेसवादी दलका सांसदहरुले आज व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् । संसद् बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलसम्बद्ध सांसद रहेका छन् । संसद्को कारबाही सुरु हुने बित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारले तराई मधेसको समस्या समाधान गर्न तत्परता नदेखाएको आरोप लगाउनुुभयो ।
सांसद कर्णले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७२ मानवीय कानुन भएकाले सो विधेयक पारित गर्न दिन लागेको तर संविधान संशोधन विधयेकले तराई मधेस, थारु र आदिवासी जनजातिको माग सम्बोधन गर्न नसक्ने भएकाले आफूहरु त्यसको विरोधमा रहेको जानकारी दिनुभयो ।
आफूहरुबाट विरोध हुँदाहुँदै संविधान संशोधनसम्बन्धी विधेयक प्रस्तुत भएकामा उहाँले आपत्ति जनाउनुभयो र आफूहरुले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नुभयो । सांसद कर्णले विना रुलिङ संसद् चलाएको र सदनमा एक जनाले विरोध जनाउँदा पनि नचल्ने विगतको परम्परालाई ध्यान दिन समेत आग्रह गर्नुभयो ।
यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले नेपालको पारवहन अधिकार हनन गरेको सन्दर्भमा सदनको ध्यानाकर्षण गराउनुभयो । आजको बैठकमा वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले ‘वातावरण संरक्षण समितिको वार्षिक प्रतिवेदन २०७१-७२’ प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.