विदेशमा रहेका नेपाली समुदायको दोस्रो पुस्ताकी दीपमाला ढकालले मिस नेपाल वर्ल्ड २०२६ को उपाधि जित्दै इतिहास रचेकी छन्।
हङकङमा जन्मिएकी तथा त्यहीँ हुर्किएकी ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत गठन गरिएको सेकेन्ड जेनेरेसन कोअर्डिनेसन कमिटीकी संयोजक समेत हुन्। उनी विदेशमा जन्मिएका र हुर्किएका नेपाली मूलका नयाँ पुस्तालाई आफ्नो मातृभूमि नेपालसँग जोड्ने अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आएकी छन्।
मिस नेपालको इतिहासमा पहिलोपटक हंगकंगमा जन्मिएर र उतै हुर्किएकी प्रतियोगीले मिस नेपाल वर्ल्डको ताज जित्नु विशेष उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले विश्वभर रहेका नेपाली मूलका दोस्रो पुस्ताका युवायुवतीका लागि प्रेरणादायी सन्देश दिएको छ।
ढकालको ऐतिहासिक सफलताप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा विश्वभर रहेका नेपाली समुदायले खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन्। उनीहरूले यस उपलब्धिले विदेशमा रहेका नेपाली समुदाय र नेपालबीचको सम्बन्ध अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।