भारतीय जेनजीको आन्दोलन र धर्मेन्द्र प्रधानको राजिनामा – के भारतीय राजनीतिमा नयाँ अध्याय सुरु हुँदैछ?
ओम शर्मा, बेल्जियम,
भारतीय राजनीतिमा पछिल्लो डेढ दशकदेखि हिन्दुत्व, राष्ट्रवाद र शक्तिशाली केन्द्रीय नेतृत्व प्रमुख राजनीतिक एजेन्डाका रूपमा स्थापित भए। यस अवधिमा हिन्दु राष्ट्रबादी राष्ट्रीय स्वयंसेवक संघको राजनीतिक ब्युरो भारतीय जनता पार्टी (भाजपा) ले नारेद्र मोदीको नेतृत्वमा लगातार चुनावी सफलता हासिल गर्दै आफ्नो राजनीतिक प्रभाव विस्तार गर्यो। समर्थकहरूले यसलाई स्थिर नेतृत्व, विकास र राष्ट्रिय सुरक्षाको राजनीतिको रूपमा व्याख्या गरे भने आलोचकहरूले लोकतान्त्रिक संबिधानमाथिको हस्तक्षेप, जनउत्तरदायी संस्थामाथि सरकारको बढ्दो दबाब, धार्मिक ध्रुवीकरण र असहमतिमाथिको क्रुर नियन्त्रणको रूपमा हेरे।
यही परिवेशमा भारतीय युवाहरूको पछिल्लो आन्दोलनलाई धेरै राजनीतिक विश्लेषकहरूले सामान्य विद्यार्थी आन्दोलनभन्दा फरक, भारतीय लोकतन्त्रको नयाँ चेतनाको संकेतका रूपमा लिन थालेका छन्। यो आन्दोलनले केवल परीक्षा प्रणालीको सुधारको माग मात्र उठाएन, बरु राज्यको उत्तरदायित्व, संविधानको सम्मान र सुशासनको प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याइदियो।
भाजपाको वैचारिक आधार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को हिन्दुत्व दर्शनसँग जोडिएको मानिन्छ। आलोचकहरूका अनुसार पछिल्ला वर्षहरूमा सहरहरूको नाम परिवर्तन, धार्मिक स्थलसँग सम्बन्धित विवाद, इतिहास र शिक्षामा नयाँ व्याख्या प्रस्तुत गर्ने प्रयास तथा अल्पसंख्यक समुदायसँग सम्बन्धित नीतिहरूले भारतीय समाजमा धार्मिक ध्रुवीकरणलाई गहिरो बनाएको छ।
सरकारमाथि आफ्नो फ़ाइदका लागि अनुसन्धान निकायहरूको राजनीतिक प्रयोग, विपक्षी दलमाथि कानुनी दबाब तथा संवैधानिक संस्थाहरूको स्वायत्ततामा हस्तक्षेप भएको आरोप पनि लाग्दै आएको छ। यद्यपि सरकारले यस्ता आरोपहरू अस्वीकार गर्दै आफ्ना सबै निर्णय संविधान र कानुनअनुसार भएको दाबी गर्ने गरे पनि प्रमाणहरुले त्यसलाई गलत साबित गर्दै आएका थिए। भारतीय समाज नरेन्द्र मोदी , अमित शाह र योगी आदित्यनाथ जस्त हिन्दुवादी संग किम्कर्तब्य बिमुढ़ जस्तो देखिएको थियो।
तर पछिल्ला घटनाक्रमले देखाएको एउटा महत्त्वपूर्ण संदेश चाहि भारतीय समाजको युवा वर्ग अब धार्मिक पहिचानभन्दा रोजगारी, शिक्षा, पारदर्शिता र अवसरको राजनीतिलाई प्राथमिकता दिन थालेको देखिन्छ।
भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीशले युवाहरूलाई “काम नगर्ने अल्छी, साङ्गो जस्ता ” भन्ने आशयको टिप्पणी गरेको प्रसंग सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो। त्यसपछि अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत भारतीय विद्यार्थी अभीजित दिप्केको पहलमा सुरु भएको अनलाइन अभियानले लाखौँ युवालाई जोड्न सफल भयो र त्यसैको जगमा स्वतस्फुर्त आन्दोलन भयो।
केही महिनाभित्रै यो अभियान दिल्लीको जन्तर–मन्तरसम्म पुग्यो। संविधानअनुसार शासन सञ्चालन हुनुपर्ने, परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने र सरकार जनताप्रति उत्तरदायी बन्नुपर्ने मागसहित हजारौँ विद्यार्थी आन्दोलनमा उत्रिए। आन्दोलनले चाँडै विपक्षी दल, नागरिक समाज, शिक्षाविद् र बलिवॊड कलाकारहरूको समेत समर्थन प्राप्त गर्यो।
आन्दोलनको मुख्य कारणमध्ये एउटा सरकारी परीक्षा प्रणालीमाथिको विश्वासको संकट थियो। पछिल्ला वर्षहरूमा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका प्रश्नपत्र किन्बेचा हुने र त्यसकै आधारमा परीक्षा रद्द हुने तथा लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने घटनाले युवाहरूमा गहिरो असन्तुष्टि जन्माएको थियो।
विशेषगरी मेडिकल अध्ययनका लागि सञ्चालन हुने NEET परीक्षामा भएको प्रश्नपत्र चुहावटको विवादले यो आक्रोशलाई अझ तीव्र बनायो। वर्षौँको मेहनत, आर्थिक लगानी र भविष्यको सपना केही व्यक्तिको भ्रष्टाचारका कारण संकटमा परेको अनुभूति युवाहरूमा देखियो। यही असन्तुष्टिले आन्दोलनलाई व्यापक बनाएको विश्लेषण गरिन्छ।
आन्दोलन चर्किँदै जाँदा सरकारले प्रशासनिक कठोरता अपनाएको आरोप लाग्यो। आन्दोलनस्थलमा प्रहरी परिचालन, प्रदर्शनकारीमाथि बल प्रयोग, अश्रुग्यास तथा लाठीचार्जका घटनाले आन्दोलनलाई कमजोर बनाउनुको सट्टा झन् व्यापक बनायो।
पर्यावरण कार्यकर्ता एबम सामाजिक शैक्षिक अभियन्ता सोनम वाङचुकको भोक हड्ताल र त्यसक्रममा भएका सरकारी हस्तक्षेपसम्बन्धी घटनाले पनि आन्दोलनलाई थप नैतिक समर्थन दिलायो। आन्दोलन दिल्लीमा मात्र सीमित रहेन; मुम्बई, कोलकाता, पटना, बेङ्गलुरु लगायतका सहरहरूमा हजारौँ विद्यार्थी सडकमा उत्रिए। अभिभावक, शिक्षक, वकिल, चिकित्सक, प्राध्यापक र नागरिक समाज लगायत बिपक्षी पार्टीहरुले समेत उनीहरूको पक्षमा आवाज उठाए।
इतिहासले पटक–पटक देखाएको छ—जब कुनै आन्दोलन केवल आन्दोलनकारीहरूको सीमामा रहँदैन र आम नागरिकको आन्दोलन बन्छ, त्यसलाई नियन्त्रण गर्न सरकारका लागि कठिन हुन्छ। भारतीय युवाको यो आन्दोलन पनि त्यही चरणमा पुगेर सरकार झुक्न बाध्य भयो।
यस आन्दोलनको सबैभन्दा उल्लेखनीय पक्ष यसको राजनीतिक सन्देश थियो। आन्दोलनकारीहरूले हिन्दू–मुस्लिम बहसभन्दा शिक्षा, रोजगारी, परीक्षा प्रणाली, पारदर्शिता र संविधानको कार्यान्वयनलाई प्राथमिकता दिए। यसले भारतीय राजनीतिमा मुद्दाको केन्द्र धार्मिक अतिबादबाट परिवर्तन भएको संकेत दिएकोछ।
पछिल्ला वर्षहरूमा किसान आन्दोलन, बेरोजगारीका प्रश्न, महँगी तथा आर्थिक असमानताका विषय उठे पनि धार्मिक ध्रुवीकरणको राजनीति धेरै प्रभावशाली रह्यो। तर युवाहरूले आफ्नै भविष्यसँग जोडिएका विषयलाई राष्ट्रिय बहसमा रूपान्तरण गर्नु भारतीय राजनीतिका लागि नयाँ बाटो तयार भएको बिस्वास गरिएकोछ।
आन्दोलनको प्रमुख मागमध्ये शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, नीत लगायतका परिक्षा स्थगित भएका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति र आन्दोलन दमन गर्ने माथि कारबाही थिए । सुरुमा सरकारले यो माग अस्वीकार गरे पनि आन्दोलनले राष्ट्रिय स्वरूप लिएपछि अन्ततः प्रधानले पद छोडे। आन्दोलनकारीहरूले यसलाई जनदबाबको सफलता भनेका छन् भने सरकार पक्षले यसलाई नियमित राजनीतिक निर्णय र देश हितका लागि योगदानका रूपमा व्याख्या गरेको छ।
जे होस्, यस घटनाले एउटा सन्देश भने स्पष्ट दिएको छ—सामाजिक सञ्जालबाट सुरु भएको युवा आन्दोलनले राष्ट्रिय राजनीतिलाई प्रभाव पार्न र परिबर्तन गर्न बाध्य बनाउन सक्छ।
नेपाल, बङ्गलादेश र श्रीलङ्कामा युवाको नेतृत्वमा भएका जेनजी आन्दोलनहरूले दक्षिण एशियाको राजनीतिमा नयाँ प्रवृत्ति देखाएका छन्। ती आन्दोलनहरूका कारण र परिणाम फरक भए पनि एउटा साझा विशेषता थियो—पुरानो राजनीतिक संस्कृतिप्रति युवाहरूको बढ्दो असन्तुष्टि।
भारतीय युवामा पनि त्यही प्रकारको चेतनाको विकास भइरहेको हो कि भन्ने प्रश्न अहिले उठ्न थालेको छ। यद्यपि भारतको सामाजिक, राजनीतिक र सांस्कृतिक संरचना अन्य दक्षिण एशियाली मुलुकभन्दा धेरै फरक भएकाले त्यस्ता तुलना गर्न अझै पर्खिनुपर्छ होला।
भारतीय युवाको पछिल्लो आन्दोलनले तत्काल सरकार परिवर्तन गरेको छैन। न त यसले भारतीय राजनीतिलाई एकैपटक नयाँ दिशामा मोडेको छ। तर यसले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ—लोकतन्त्रमा नागरिक, विशेषगरी युवा पुस्ता, केवल दर्शक भएर बस्न तयार छैनन्।
यदि भविष्यमा पनि यही प्रकारको नागरिक दबाब, संवैधानिक मूल्यप्रतिको प्रतिबद्धता र उत्तरदायी शासनको माग निरन्तर बलियो हुँदै गयो भने भारतीय राजनीतिमा मुद्दा–आधारित प्रतिस्पर्धाको नयाँ संस्कृति विकसित हुन सक्छ।
यद्यपि यसको दीर्घकालीन प्रभाव कस्तो हुन्छ भन्ने कुरा आगामी राजनीतिक घटनाक्रम, सरकारको प्रतिक्रिया, विपक्षी दलहरूको भूमिका र सबैभन्दा महत्त्वपूर्ण रूपमा भारतीय जनताले आगामी निर्वाचनहरूमा गर्ने निर्णयले तय गर्नेछ।
अहिले यति चाहि ढुक्क संग बन्न सकिन्छा “युवाको यो जागरण भारतीय राजनीतिका लागि अन्तिम निष्कर्ष होइन, तर सम्भावित परिवर्तनको एउटा महत्त्वपूर्ण संकेत भने अवश्य हो”।