अमेरिकालाई ४-१ ले हराए पछि ट्रंपलाई बेल्जियमको जबाफ- अब यसलाई उल्टाएर देखाउ !

0

अमेरिकी स्ट्राइकर फलारिन बालोगुनमाथि रातो कार्डपछि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध फिफाले नियमविपरीत फुकुवा गरेपछि बेल्जियमको टोलीले आफूहरूमाथि अन्याय भएको महसुस गरेको जनाएको छ।

२५ वर्षीय बालोगुनलाई बोस्निया–हर्जेगोभिनाका डिफेन्डर तारिक मुहरेमोभिचमाथि फाउल गरेको आरोपमा रातो कार्ड देखाइएको थियो। त्यसपछि उनी सिएटलमा बेल्जियमविरुद्ध हुने खेल खेल्न नपाउने लगभग निश्चित मानिएको थियो।

तर आइतबार फिफाले उनको एक खेलको स्वतः लाग्ने प्रतिबन्ध १२ महिनाका लागि निलम्बन गर्ने निर्णय गर्‍यो। यससँगै बालोगुन बेल्जियमविरुद्ध मैदान उत्रिन योग्य बने।

फिफाको उक्त निर्णयको व्यापक आलोचना भएको थियो। युएफए, बेल्जियम फुटबल पक्ष तथा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुखेललगायत धेरैले यसको विरोध गरेका थिए।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फिफासँग बालोगुनको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेको बताएका थिए। उनका अनुसार प्रतिबन्ध कायम रहँदा प्रतियोगितामै “ठूलो दाग” लाग्ने अवस्था सिर्जना हुने थियो।

बालोगुनले बेल्जियमविरुद्धको खेलमा सुरुआती रोजाइमा स्थान पाए पनि अमेरिका घरेलु समर्थकमाझ ४–१ को फराकिलो अन्तरले पराजित भयो।

खेलपछि बेल्जियमका मिडफिल्डर रस्किनले पछिल्ला दुई दिनमा मैदानबाहिर भएका घटनाले टोलीलाई थप एकताबद्ध बनाएको बताए।

उनले भने, “पछिल्ला दुई दिनमा मैदानबाहिर धेरै कुरा भए। टोलीभित्र अन्याय भएको भावना थियो र त्यसको जवाफ मैदानमै दिने हाम्रो दृढ संकल्प थियो।”

बेल्जियमका कप्तान युरी टिलेमन्सले पनि यही घटनाले टोलीलाई थप प्रेरित गरेको बताए।

उनले भने, “हामीले आपसमा मैदानमै जवाफ दिने कुरा गरेका थियौँ, र हामीले त्यही गरेर देखायौँ।”

बेल्जियमले चौथो गोल गरेपछि केही खेलाडीले ‘ट्रम्प डान्स’ शैलीमा उत्सव मनाएका थिए। उक्त शैली अमेरिकी राष्ट्रपति ट्रम्पको चर्चित नृत्य हाउभाउसँग मिल्दोजुल्दो मानिन्छ।

यसैबीच, बेल्जियम राष्ट्रिय टोलीको आधिकारिक इन्स्टाग्राम खाताले पनि विवादप्रति व्यंग्य गरेको देखियो। खातामा स्ट्राइकर रोमेलु लुकाकुले कानमा हात राखेको तस्वीर सार्वजनिक गर्दै क्याप्सनमा “यसलाई उल्टाएर देखाऊ” लेखिएको थियो।

बेल्जियमका मुख्य प्रशिक्षक रूडी गार्सियाले खेलपछि बालोगुन आफूलाई भेट्न आएको बताए।

उनले भने, “उनी मसँग कुरा गर्न आए। मलाई त्यो निकै राम्रो लाग्यो। यसमा खेलाडीहरूको कुनै दोष छैन। मैले पनि उनीहरूलाई यही कुरा भनेँ।”

यो घटनाले आफ्नो टोलीको तयारीमा असर परेको हो कि भन्ने प्रश्नमा गार्सियाले भने, “अमेरिकाले जुनसुकै टोली उतारे पनि हाम्रो ध्यान आफ्नै खेल योजनामा थियो।”

उनले थपे, “यो निकै परिपक्व टोली हो। मैले खेलाडीहरूलाई सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो आफ्नै प्रदर्शन भएको सम्झाएको थिएँ।”

यस घटनाप्रति इरानले पनि सामाजिक सञ्जालमार्फत व्यंग्य गरेको छ। इरानको आधिकारिक वेबसाइटले बेल्जियमसँगको खेलको नतिजा सार्वजनिक गर्दै सन्देशमा लेखेको छ, “अब सम्पूर्ण विश्व फुटबलमा राजनीतिको अपमानजनक हारमा रमाइरहेको छ।”

यसअघि अमेरिकी गृह सुरक्षा विभागका प्रमुख मार्कवेन मुलिनले इरान समूह चरणबाट बाहिरिएपछि आफू “खुसीले नाचेका” बताएका थिए। अमेरिका–इरानबीचको तनावका कारण इरानी टोलीको प्रतियोगितामा सहभागिता पनि भिसा तथा यात्रा सम्बन्धी समस्याले प्रभावित भएको थियो।

#एजेन्सीको सहयोगमा#

Leave A Reply

Your email address will not be published.