बेल्जियममा नेपाली युवाको फुटबल प्रतियोगिता, हल्लाखल्ला बिना समुदायलाई जोड्ने सुन्दर प्रयास,

0

एन्तवेरपेन बेल्जियम,

समाजलाई सकारात्मक सन्देश दिन, पुस्तान्तरणको प्रक्रियालाई बलियो बनाउन र नेपाली समुदायबीच एकता तथा भातृत्वको भावना अभिवृद्धि गर्न सधैं औपचारिक कार्यक्रम, भाषण वा चन्दा संकलन नै गर्नु पर्दैन । कहिलेकाहीँ सामान्य देखिने गतिविधिहरूले पनि समुदायमा राम्रो संदेश दिईरहेका हुन्छन । बेल्जियममा सोमबार सम्पन्न भएको नेपाली समुदायको फुटबल प्रतियोगिता त्यस्तै एउटा उदाहरण बनेको छ।

कुनै तामझाम वा औपचारिक समारोहबिना सम्पन्न उक्त प्रतियोगिताले बेल्जियमभरिका नेपाली युवा खेलाडीहरूलाई एउटै मैदानमा ल्यायो। प्रतियोगितामा बेल्जियमका विभिन्न क्षेत्रबाट नौ वटा टोली सहभागी भएका थिए। प्रतिस्पर्धात्मक खेलपछि एफसी आर्सकोट प्रथम तथा सी19 एफसी एन्तवेरपेन एन्टवर्प द्वितीय बन्न सफल भए।प्रथम र द्वितीय टिमलाई क्रमश १५०० र ५०० नगद प्रोत्साहन पुरुस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताका सबै खेल बेल्जियमका मान्यताप्राप्त रेफ्रीहरूले सञ्चालन गरेका थिए। खेलाडीहरूले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै अनुभव आदान–प्रदान गर्ने, आफ्ना कमजोरी पहिचान गर्ने र आगामी प्रतियोगिताका लागि आफूलाई अझ निखार्ने अवसर प्राप्त गरे।

विगत तीन वर्षदेखि नवीन नेपाल सहित केही खेलप्रेमी युवाको पहलमा वार्षिक रूपमा आयोजना हुँदै आएको यो प्रतियोगिताको यस वर्ष तेस्रो संस्करण सम्पन्न भएको हो।

आयोजकहरूका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बेल्जियममा रहेका नेपाली फुटबल खेलाडीहरूलाई एकअर्कासँग प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउनु, उनीहरूको स्तर मूल्याङ्कन गर्न सहज बनाउनु तथा भविष्यमा बेल्जियम र युरोपका विभिन्न प्रतियोगितामा नेपाली टोलीलाई अझ सक्षम रूपमा सहभागी गराउनु हो। यही उद्देश्यलाई केन्द्रमा राखेर प्रतियोगितामा बेल्जियमबाहिरका खेलाडीहरूलाई सहभागी गराइएको थिएन।

दिनभर विभिन्न चरणका प्रतिस्पर्धापछि विजयी टोली तथा उत्कृष्ट खेलाडीहरूलाई खेलकुद क्षेत्रका अग्रज व्यक्तित्व ज्ञानु थापा, सुबाश जोशीले सम्मान गर्नुभयो।  नेपाली समुदायमा खेलकुदको प्रवर्द्धनका लागि सक्रिय व्यक्तित्वहरूको पनि उपस्थिति रहेको कार्यक्रमको सहजीकरण मिन छेत्री, चन्द्र शर्माले गर्नुभएको थियो भने बिक्रम गुरुङ, कृष पुन र दीपक कार्कीले  प्राबिधिक सहयोग गर्नुभएको थियो।

प्रतियोगिता सम्पन्न भएपछि सहभागीहरूबीच सामूहिक खानपिन तथा अनौपचारिक भेटघाट र समिक्षा भएको थियो । त्यस अवसरमा नेपाली समुदायमा खेल संस्कृति कसरी अझ विस्तार गर्ने, युवाहरूलाई शारीरिक गतिविधितर्फ कसरी आकर्षित गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल गरिएको थियो।

समग्रमा, कुनै औपचारिकता वा हल्लाखल्लाबिना सम्पन्न भएको यो फुटबल प्रतियोगिताले नेपाली समुदायमा खेलभावना, मित्रता, आत्मीयता र एकताको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताएकाछन।

Leave A Reply

Your email address will not be published.