एन्टवर्प (बेल्जियम), मोना बेल्जियमले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउने र भाइचारा बढाउने उद्देश्यका साथ प्रत्येक बर्ष आयोजना गर्दै आएको वार्षिक भलिबल प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। आइतबार बेल्जियमको एन्टवर्पमा आयोजित प्रतियोगितामा युरोपका विभिन्न देशबाट आएका ११ टोली सहभागी भएका थिए भने ४ वटा महिला भलिबल टोलीले खेले ।
अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको प्रतियोगिताको उपाधि नेपाल युरोपियन स्पोर्ट्स क्लबले जित्न सफल भयो। फाइनल खेलमा युरोपियन स्पोर्ट्स क्लबले ब्रदर्स डेनमार्क क्लबलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो। ब्रदर्स डेनमार्क क्लब दोश्रो भयो। एभरेस्ट समाज ब्रुग्गे, ठुलो सहास लुभेन, मोना महिला टिम र अन्नपुर्ण ब्रुसेल सहित ४ वटा महिला टिममा एभरेस्ट समाज ब्रुगे पहिलो र मोना एन्तवेरपेन दोश्रो भए। जीबन सुनारी बेस्ट प्लेयर,बिशाल खत्री बेस्ट स्पेकर, संगम थापा बेस्ट स्याटरको उपाधिबाट सम्मानित भए ।
प्रतियोगितामा बेल्जियम, डेनमार्क, फ्रान्स, लक्जेम्बर्गलगायत विभिन्न युरोपेली देशबाट आएका नेपाली खेलाडीहरूले सहभागिता जनाएका थिए। यस वर्ष नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडीहरूको समेत सहभागिता रहेकाले प्रतियोगिताको स्तर अझ उत्कृष्ट बनेको दर्शकहरूले प्रतिक्रिया दिएका छन्।
मोना बेल्जियमले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको यस प्रतियोगिताले विदेशमा रहेका नेपालीबीच खेलकुदमार्फत आपसी सम्बन्ध, मित्रता र एकताको भावना बलियो बनाउँदै आएको बेल्जियमका म्याग्देलीहरुको अनुभब रहेकोछ।
दिनभर सञ्चालन भएको प्रतियोगितापछि प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथम पुरस्कार 3000 युरो र द्वितीय पुरुस्कार 1500 युरो रहेको थियो। साथै उत्किष्ट प्रदर्शन गरेका खेलाडीलाई बिशेष पुरुस्कार वितरण गरिएको थियो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष घनश्याम शाही, शिव बरुवाल, योगेन्द्र श्रेष्ठ, सुमन थापा प्रदिप, अध्यक्ष ज्ञानबहादुर रकाल लगायतले विजेता तथा उपविजेता खेलाडीहरूलाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा आर्थिक भौतिक सहयोग गर्ने संघ संस्था एबम व्यक्तिहरुलाई सम्मान गरिएको थियो।
प्रतियोगिताको सञ्चालन नेपाली समुदायका अनुभवी रेफ्रीहरू मीन छेत्री, सरोज गौचन, राजु थापासँगै बेल्जियमका रेफ्रीहरूले संयुक्त रूपमा गरेका थिए। मोनाका अन्तराष्ट्रिय अध्यक्ष मिम पुर्जाले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता मोना बेल्जियम अध्यक्ष ज्ञान बहादुर रकालले गर्नुभएको थियो। संचालन चन्द्र शर्माले गर्नुभएको थियो।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक मोना बेल्जियमका अध्यक्ष रकाल र प्रतियोगिता संयोजक भुवन आचार्यले सहभागी टोली, सहयोगी संस्था, स्वयंसेवक तथा दर्शकप्रति आभार व्यक्त गर्नुभएकोछ।