ब्रसेल्स, १० जुन। नेपाली दूतावास ब्रसेल्स, मिथिला सेन्टर यूएसए र युरोपियन एक्सटर्नल एक्सन सर्भिस (EEAS) को सहयोगमा ‘आर्ट फर एसडीजीजः द मिथिला हेरिटेज’ शीर्षकको मिथिला कला प्रदर्शनीको आयोजना गरिएकोछ।
प्रदर्शनीको मंगलबार जुन ९ तारिख बेनेलक्स एबम युरोपियन युनियनकका लागि नेपाली राजदुत सेवा लम्साल, EEAS का एशिया तथा प्रशान्त क्षेत्रका उप–प्रबन्ध निर्देशक डोमिनिक पोर्टर, बेल्जियमको संघीय सार्वजनिक सेवा (FPS) परराष्ट्र मामिला, वैदेशिक व्यापार तथा विकास सहयोग विभागका प्रोटोकल प्रमुख पिएर कार्टुभेल्स तथा मिथिला सेन्टर यूएसएका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक अमित प्रताप शाहले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरि गनुभएको थियो।
नेपाल र युरोपेली संघको राष्ट्रिय गित बजाएर सुरु गरिएको कार्यक्रममा बिभिन्न देशका राजदूत, बेल्जियमको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, युरोपेली संघ (EU) का उच्च अधिकारी, कूटनीतिज्ञ, मिथिला कलाकार, सञ्चारकर्मी तथा नेपालका शुभाच्न्तक बेल्जियन नागरिक र नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै नेपाली राजदुत लम्सालले मैथली कलाको समृद्ध इतिहास र महत्वबारे बतानुभयो। मैथली चित्रकला सांस्कृतिक सम्पदा मात्र नभई विकासको माध्यम, सांस्कृतिक कूटनीतिको सशक्त उपकरण तथा राष्ट्रिय गौरवको स्रोत हो भन्नुभयो।
उहाले मिथिला क्षेत्रलाई माता सीताको जन्मभूमि र प्राचीन सभ्यताको केन्द्रका रूपमा उल्लेख गर्दै महिलाहरूले शताब्दीयौंदेखि प्राकृतिक रङहरूको प्रयोग गरी घरका भित्ताहरू र माटोका भुइँमा चित्रकला सिर्जना गर्दै आएको स्मरण गरानुभयो।
राजदूत लम्सालले नेपालको जीवित सांस्कृतिक सम्पदाको अबलोकन गर्न अतिथिहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभयो।
EEAS का डोमिनिक पोर्टरले ब्रसेल्समा मिथिला कला र संस्कृतिको सौन्दर्य तथा गहिराइ प्रस्तुत गरेकोमा नेपाल दूतावासलाई बधाई दिनुभयो । उहाले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने नेपालका प्रयासहरूको प्रशंसा गर्दै युरोपेली संघ नेपालको विकास साझेदारका रूपमा निरन्तर सहयोगी रहने प्रतिबद्धता पनि जाहेर गर्नुभयो।
बेल्जियमको परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख पिएर कार्टुभेल्सले नेपाल–बेल्जियमबीचको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै मिथिला महिला कलाकारहरूले सिर्जना गरेका कलाकृतिप्रति आफ्नो प्रशंसा व्यक्त गर्नुभयो।
मिथिला सेन्टर यूएसएका प्रतिनिधि अमित प्रताप शाहले मिथिला कलासँग जोडिएको आफ्नो यात्राबारे चर्चा गर्दै संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा यसको प्रतिनिधित्वका विषयमा जानकारी दिए। उनले विश्वका विभिन्न क्षेत्रमा स्थायी मिथिला कला सङ्ग्रहालय स्थापना गर्ने संस्थाको दीर्घकालीन लक्ष्यसमेत प्रस्तुत गर्नुभयो।
कार्यक्रममा राजदूत लम्सालले मिथिला कला प्रवर्द्धनमा योगदान पुर्याएका एस.सी. सुमन, अमित प्रताप शाह, नवल किशोर यादव, प्रतीक एस. रायमाझी तथा शिवांगी सिंहलाई पारम्परिक मिथिला लोककलाले सजिएको मिथिला खादा प्रदान गरी सम्मान गर्नुभयो। साथै मनिषा शाह र सुनैना ठाकुरका कलाकृतिहरू पनि प्रदर्शनीमा राखिएका थिए।
कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा राजदूतहरूलाई समेत सम्मानस्वरूप मिथिला खादा प्रदान गरिएको थियो।
उद्घाटन समारोहमा नेपाली तथा मिथिला कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो। कलाकारहरूले परम्परागत पोशाकमा मैथिली लोकनृत्य झिझिया तथा नेपाली लोकनृत्य प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए।
समारोहको समापन मिथिला परिकारहरूको स्वाद ग्रहणसँगै गरिएको थियो। अतिथिहरूले थेकुवा, कचारी, मखाना चाट, फोपी, फुलौरी, आँप तथा लस्सीको स्वाद लिँदै प्रदर्शनीमा राखिएका रंगीन र आकर्षक मिथिला चित्रकलाको अवलोकन गरेका थिए।
प्रदर्शनीमा कुल ३३ वटा मिथिला कलाकृति राखिएका छन्। उक्त प्रदर्शनी आगामी २० जुन २०२६ सम्म सर्वसाधारणका लागि खुला रहनेछ ।
कार्यक्रमको संचालन नेपाली दुतावासका उपनियोग प्रमुख रिचा भट्टराईले गर्नुभएको थियो।


