‘जलवायु परिवर्तन र हिमालमा यसको प्रभाव’ बिषयमा बेल्जियमको ब्रसेल्सस्थित नेपाली दूतावासले परिसंवाद कार्यक्रम आयोजना गरेको छ । शुक्रबार, मे २९ मा पहिलो एभरेस्ट आरोहणको सम्झनामा युरोपियन एक्सटर्नल एक्सन सर्भिस (EEAS) मा आयोजित सम्बाद कार्यक्रममा हिमाली देशहरूले भोगिरहेको जलवायु चुनौतीहरूमा ध्यानाकर्षण गराइएको थियो।
कार्यक्रममा बेल्जियममा कार्यरत बिभिन्न देशका राजदूत, मिशन प्रमुख, र कूटनीतिज्ञहरूका साथै नेपाल, बेल्जियम र युरोपियन युनियन सरकारका उच्च अधिकारीहरू, जलवायु विज्ञहरू, शिक्षाविद्, फ्रेन्ड्स अफ नेपाल, विद्यार्थीहरू, र विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा भर्चुयल सम्बोधन गर्दै परराष्ट्रमन्त्रि शिशिर खनालले संवेदनशील हिमाली प्रणालीको संरक्षणमा साझा जिम्मेवारीको आवश्यकता औँल्याउनु भएको थियो। मन्त्रि खनालले हिमालयमा जलवायु परिवर्तन र यसले पारेको प्रभावबारे नेपालको भोगाइ साझा गर्नुभएको थियो।
बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत सेवा लम्सालले अन्तर्राष्ट्रिय सगरमाथा दिवस र नेपालको गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै, जलवायु परिवर्तनका मूल मुद्दाहरू प्रस्तुत गर्नुभयो ।
राजदुत लम्सालले नेपालले सामना गरिरहेका चुनौतीहरू बारे जानकारी गराउदै अन्तर्राष्ट्रिय समुदायलाई वैज्ञानिक प्रमाणहरू अनुसार कार्य गर्न, आफ्ना सन्धि प्रतिबद्धताहरू पूरा गर्न, र जलवायु न्यायमा अन्तर्राष्ट्रिय न्यायालयको परामर्श र निर्देशनको सम्मान गर्न आह्वान गर्नुभयो ।
जलवायु परिवर्तन व्यवस्थापन विभाग प्रमुख डा. महेश्वर ढकालले जलवायु वित्तीयकरण विषयमा बोल्दै नेपालले अहिले गर्दै आएको प्रयासहरू,सामुदायिक अनुकूलन, नवीकरणीय ऊर्जा विस्तार, वन संरक्षण र प्रतिबद्धताका माध्यमबाट महत्वाकांक्षी घरेलु कार्यहरू गरिरहेकोछ भन्नुभयो । उहाले उच्च लेनदेन लागत, सीमित पहुँच र क्षमता सहितको विश्वव्यापी जलवायु वित्तीय संरचनात्मक ढाचाको परिबर्तन आबस्यकता रहेछ भन्नु भयो ।
युरोपियन युनियनका जलवायु र वातावरणका लागि विशेषदूत एन्थोनी अगोथाले जलवायु मुद्दाहरूको वकालतमा नेपालको कूटनीतिक प्रयासको प्रशंसा गर्नुभयो र जलवायु संकटको अग्रपंक्तिमा रहेका कमजोर राष्ट्रहरूसँगको साझेदारीमा नेपालसंग बलियो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संघीय जलवायु परिवर्तन विभाग बेल्जियमका प्रमुख पिटर विट्टोएकले, पहाडी पारिस्थिति तन्त्रको संवेदनशीलताले कमविकसित देशहरूले भोगिरहेको जलवायु प्रभावहरू समाधान गर्न बेल्जियमले अन्तर्राष्ट्रिय अभियानलाई सहयोग गर्नेछ भन्नुभयो।
संयुक्त राष्ट्र संघ ब्रसेल्सकी निर्देशक क्यामिल्ला ब्रुक्नरले हिमालहरूलाई महत्वपूर्ण विश्व सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पहाडी विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा. पेमा ग्यम्स्तोको भिडियो सन्देश देखाइएको थियो । हिन्दु कुश हिमाललाई विश्वको तेस्रो ध्रुवको रूपमा वर्णन गर्दै ग्यम्स्तोले उक्त हिमश्रीखलाले आठ देशका करिब दुई अर्ब मानिसहरूको लागि ताजा पानी र आवश्यक पारिस्थितिक सेवा प्रदान गरेकोछ भन्नुभयो ।
नेदरल्याण्डको ग्रोनिङेन विश्वविद्यालयका सहप्राध्यापक डा. प्रजाल प्रधानले विज्ञानमा आधारित प्रस्तुतीकरण मार्फत जलवायु परिबर्तनमा आबस्यक लक्ष्य हासिल गर्न पारिस्थितिको सीमाभित्र सामाजिक संरचना अनुसार नीति बन्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सहभागीहरूले जलबायु परिबर्तनको प्रभाबका बारेमा विचारहरू आदान-प्रदान गरे, प्रश्न उठाए, हिमाली क्षेत्रमा रहेका जटिल चुनौतीहरू समाधान गर्न सामुहिक प्रयास आबस्यक रहेको निष्कर्ष सुनाएका थिए।