नेपालको मिथिलांचल ( मदेश प्रदेश) को संस्कृति दर्शाउने ऐतिहासिक मिथिला कला प्रदर्शनी युरोपको राजधानी ब्रसेल्समा हुने भएकोछ ।
राजा जनकको पाला देखि गाउघरका कथा काव्यमा बर्णन गरिएका लोकोक्तिलाइ चित्रमा उतारेर प्रदर्शन गरिने मैथली लोक कलालाई बिश्व सामु चिनाउन नेपाली दुतावास बेनेलक्सले अमेरिका स्थित मिथिला सेन्टरको सहकार्य तथा युरोपियन युनियनको सहयोगमा आयोजना गरेको यस कला प्रदर्शनीमा नेपाल, अमेरिका र युरोपमा रहेका मैथली कलाकारहरुको प्रस्तुति रहनेछ।
शताब्दीयौँ पुरानो परम्परामा आधारित मिथिला कला असाधारण महत्वको नेपालको जीवित सांस्कृतिक सम्पदा हो। जटिल ज्यामितीय आकृतिहरू, आकर्षक रङ संयोजन तथा प्रकृति, पौराणिक कथा र दैनिक जीवनबाट प्रेरित प्रतीकात्मक रूपाङ्कन भएको मिथिला कला लामो समयदेखि मिथिलाञ्चलको नेपाली समुदायका महिलाहरूले आफ्ना मूल्य, आकांक्षा तथा आध्यात्मिक विश्वास अभिव्यक्त गर्ने माध्यमको रूपमा प्रयोग गर्दै आएका छन्।
नेपालको सांस्कृतिक विरासतलाई दिगो विकासको विश्वव्यापी आवश्यकतासँग जोड्ने अभिप्रायले आयोजित यस प्रदर्शनीले वातावरणीय संरक्षण, लैङ्गिक समानता, सामाजिक सद्भाव तथा मानव मर्यादा जस्ता सार्वभौमिक विषयहरूमा नेपालको सन्देश फैलाउन भूमिका खेल्न सकोस भन्ने उद्यस्यले मिथिला कलाकारहरुको सहभागितामा यो प्रदर्शनीको आयोजना गरिएको बेनेलक्सका नेपाली राजदुत सेवा लम्सालले बताउनुभएकोछ।
संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) का आधारभूत मूल्यहरूसंग मिल्ने नेपालका सिद्धान्तहरू, नेपाली संस्कृति, सम्पदा र कला विश्वव्यापी विकास एजेन्डालाई अघि बढाउने शक्तिशाली माध्यम बन्न सकुन भनेर यो प्रदर्शनी आयोजना गरिएको दुतावास द्वारा यस सम्बन्धमा जारि बिज्ञप्तिमा जनाईएकोछ।
यो प्रदर्शनी ५ जुनदेखि २० जुन २०२६ सम्म सञ्चालन हुने यस प्रदर्शनीको औपचारिक उद्घाटन ९ जुन २०२६ का दिन दिउँसो २:०० बजे EEAS मुख्यालय, ब्रसेल्समा हुनेछ।
उद्घाटन समारोहमा युरोपियन युनियन, बेल्जियमको संघीय सार्वजनिक सेवा (विदेश मामिला, वैदेशिक व्यापार तथा विकास सहयोग), बेल्जियमस्थित विभिन्न दूतावासहरू तथा अमेरिका र नेपालका मिथिला कलाकारहरूको उच्चस्तरीय सहभागिता रहनेछ।
कार्यक्रममा मिथिला कला र संस्कृतिको परिचय, कलाकारहरूको प्रस्तुति, परम्परागत नृत्य, प्रामाणिक मिथिला भोजन तथा नेपाली आतिथ्यको अनुभव गराइनेछ।
नेपालका मित्रहरू, नेपाली समुदायका सदस्यहरू, विद्यार्थीहरू, कलाकारहरू तथा बेनेलक्स (BENELUX) देशहरूमा बसोबास गर्ने नेपाली समुदायका सबै इच्छुक व्यक्तिहरूले दुतावासद्वारा जारि भएको क्युआर कोड वा लिंक मार्फत दर्ता गरि सहभागी हुन् सकिनेछ।
बेनेलक्स देशहरूमा दर्ता भएका नेपाली संस्थाहरू तथा नेपाली समाजका अगुवाहरूलाई यस पहलमा सहभागी भई सहयोग गरिदिन नेपाली दुतावासले अनुरोध गरेकोछ।