चिम्लेर लोचन सबै जग शून्य पारी बाँधेर आसन बसे निलकण्ठ धारी।
विर्से सबै जगत शोक र लोभ मोह भो शून्य धर्म अनि कर्म छुटे पछाडि॥
तिम्रो अनुग्रह मिल्यो जब जन्मिएँ म हे प्रेमदेव! अनुरक्त बन्यो जमिन।
मेरो सुवास सुषमासित लठ्ठिएर वैराग बाट तव मुक्त बने महेश॥
कैलाशमा कुसुमकान्ति छरेर हाँसेँ देवेशमा विनित भाव भरेर नाचेँ।
फर्के सरक्क शशिशेखर सृष्टि तर्फ देखेर मोहक छटा मम यत्र-तत्र॥
राता गुराँस हरिया लतिका झुलाऐँ शृङ्गारयुक्त बधु सृष्टि तयार पारेँ।
जँघार, ताल भरि कोमल भाव भर्दै आएँ वसन्त वसुधाभरि मुस्कुराएँ॥
डाँफे मुनाल सुरिला स्वर कोइलीका सुन्दै मयूरसित नाच्दछु फुर्र-फूर्र।
हेर्दै हिमाल नदि बाग बगान भित्र जो रम्दछन् मसित मस्त भई विचित्र ॥
गंगा भण्डारी, २० वैशाख २०८३॥