कडा चिसोलाई बिदाई गर्दै बसन्तको स्वागत गरेर समरको उल्लासपनको झल्को दिने र नागरिकमा उत्साह भर्ने हेतुले द्वितीय विश्व युद्धको समाप्ति संगै सुरु भएको लुभेन कार्नाभालमा नेपाली समुदायले आफ्नो रंगीन उपस्थिति देखाउने भएकोछ। युरो नेपाल कलाकार संघको आयोजना र अगुवाईमा सहभागी हुने नेपाली समुदायले लुभेन सहरका सडकमा नेपालको सांस्कृतिक झाँकी, नृत्य र संगीत प्रस्तुत गर्नेछ। कार्नाभाल परेडमा सबै भन्दा अगाडी रहने नेपाली झाँकीमा नेपाली कला संस्कृति झल्किने नेपाल हाउस सहितको बग्गी संगै नृत्यहरु अन्य भेषभुषाको प्रदर्शन हुनेछ। त्यसका लागि करिब एक महिना देखि युरो नेपाल कलाकार संघको टोलीले तयारि गरेको अध्यक्ष बलराम पुनले जानकारी गराउनुभएकोछ।
कार्नाभालमा नेपाली कला संस्कृतिको उत्तम प्रस्तुति देखाउनका लागि संस्थाले नेपाली दुतावास ब्रसेल्स, लुभेन नगरपालिका सदस्य सुर्य ढकाल, नेपाली आदिवासी जनजाति महासंघ, नेपाली ब्यबासायीहरु र संघ संस्थाहरुसंग सहकार्य गरेकोछ । सुर्य ढकाल, चिरन कुमार खवास, प्रबिना गुरुङ, लोकेन्द्र नेपाल र गडुलध्वज गुरुङले कार्यक्रमको श्रोत ब्यबस्थापन गर्ने जिम्मेवारी लिनु भएकोछ । आर्थिक र अन्य ब्यबस्थापन र सहजीकरण, जातीय भेष भुषा र झाँकीका लागि एनआरएनए बेल्जियम, आदिवासी जनजाति महासंघ बेल्जियम, नेपाली ब्यबसायी संघ र मगर संघ बेल्जियमले सहयोग गरेकाछन।
युरोपको प्रसिद्ध उल्लासपूर्ण महोत्सबमा नेपाली कला, संस्कृति र पहिचानलाई प्रस्तुत गर्ने सुअवसर पाउनु बेल्जियमबासि सम्पूर्ण नेपालीहरूका लागि गौरवको विषय हो। युरोपेली सांस्कृतिक राजधानी घोषणा भइसकेको लुभेनमा हुने कार्नाभालमा नेपाली कला संस्कृतिको प्रदर्शन गरेर नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने यस कार्यक्रम सबै नेपाली समुदायको आर्थिक, नैतिक र भौतिक सहयोगका लागि युरो नेपाल कलाकार संघले अपिल गरेकोछ।