राजदुत लम्सालद्वारा नेदरल्यान्ड्सका राजा विलियम समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत,

0

बेनेलक्स र युरोपियन युनियनका लागि नेपालकी राजदूत सेवा लम्सालले नेदरल्याण्ड्सका राजा विलियम-अलेक्जान्डरलाई आफ्नो ओहदाको प्रमाणपत्र (Letters of Credence) पेश गर्नुभएको छ।

हेगस्थित नूर्डेइन्डे दरबारमा २९ अक्टोबर बुधबार आयोजित  समारोहमा  महाराज विलियम समक्ष ओहदाको प्रमाणपत्र पेश गरे संगै नेदरल्याण्ड्समा राजदूत लम्सालको कुटनीतिक जिम्मेवारीको औपचारिक प्रारम्भको भएकोछ।

यस अघि राजदुत लम्सालले बेल्जियम, लग्जेम्बर्ग युरोपियन युनियनमा नेपालको राजदुतका रुपमा औपचारिकता प्राप्त गरि जिम्मेवारी निभाइरहनु भएकोछ।

हेग दरबारमा भएको समारोहमा नेपाल र नेदरल्याण्डको गहिरो मित्रता र साझा मूल्यहरूको प्रतिबिम्ब दर्शाईएको थियो। समारोहको सुरुवात चारवटा ढोलको तालका साथ भएको थियो भने नेपालको राष्ट्रिय गान बजाएर शैनिक सम्मान सहित राजदुत लम्साललाई स्वागत गरिएको थियो ।

त्यसपछि होल्याण्ड नरेश संग राजदूत लम्सालले निजी भेट गर्नुभएको थियो।

सो अवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपाली जनताको तर्फबाट नेदरल्याण्ड्सका राजालाई हार्दिक शुभेच्छा र बधाई सन्देश प्रदान गर्नुभयो। उहाँले राजाको दीर्घायु, स्वास्थ्य र खुशीका साथै मित्रवत् डच जनताको निरन्तर समृद्धिको कामना गर्नुभयो।

राजदूत लम्सालले नेपालको पछिल्लो राजनीतिक विकास र अन्तरिम सरकारको गठनबारे जानकारी गराउँदै नेपाल सरकारका प्राथमिकताहरू प्रस्तुत गर्नुभयो।

उहाँले सन् १९६० अप्रिल २ मा स्थापना भएको नेपाल–नेदरल्याण्ड्स कूटनीतिक सम्बन्धपछि नेदरल्याण्ड्सले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै, संयुक्त राष्ट्रसंघ र युरोपेली सङ्घजस्ता बहुपक्षीय मञ्चहरूमा नेदरल्याण्ड्स सरकारको सहयोगको पनि प्रशंसा गर्नुभयो।

उहाँले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा दुवै देशबीच सहयोग विस्तारको सम्भावना दर्शाउदै कृषि, ऊर्जाको शान्तिपूर्ण प्रयोग, उत्पादन र पर्यटनका क्षेत्रमा डच लगानीको अपेक्षा दर्शनुभयो। राजदुत लम्सालले जनस्तरमा सम्बन्ध बलियो बनाउने महत्व औंल्याउँदै नेपाल–नेदरल्याण्ड्सको मित्रतालाई अझ प्रगाढ बनाउन कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हल्याण्ड नरेश विलियमले राजदुत लम्साललाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभयो। उहाले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली जनता प्रति शुभेक्षा प्रकट गर्दै युबराजको रुपमा गरेको नेपाल भ्रमणको स्मरण गर्नु भयो।

नेपालका तत्कालिन महाराज महेन्द्रको नेदरल्याण्डसमा  औपचारिक भ्रमणको समारोह भैरहेको  बेला आफ्नो जन्म भएको स्मरणिय घटना बताउदै नेपाल सधै आफ्नो मानसपटलमा छ भन्नुभयो ।

हालै भएको जेनजी आन्दोलनले ल्याएको परिबर्तनलाई सकारात्मक रुपमा लिएर बिकास र सुशासनको बाटोमा नेपाल अगाडी बढ्ने बिश्वास व्यक्त गर्नुभयो।

समारोहमा राजदरबारका पदाधिकारीहरु सगनै नेपाली दुतवासकि द्वितीय सचिब आयुषा खनालको उपस्थिति रहेको थियो।

त्यसै गरि ३० अक्टोबरमा नेदरल्याण्डको हेगमा मुख्यालय रहेको रासायनिक हतियार निषेध संगठन (OPCW ) का महानिर्देशक फर्नान्डो आरियासलाइ पनि राजदुत लम्सालले ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएकोछ।

यो संगै नेपाली राजदुतको रुपमा सबै देश र संगठनमा उहाको औपचारिक जिम्मेवारी निर्बाह गर्ने कार्य पुरा भएको जानकारी नेपाली दुतावास ब्रसेल्सले जानकारी गराएकोछ।

Leave A Reply

Your email address will not be published.