तीन महिनापछि विद्यालय जान पाउँदा…

0

झन्डै तीन महिनदेखि पढ्नबाट वञ्चित बालबालिका आज अन्तर्राष्ट्रिय बाल दिवसकै दिन विद्यालय जान पाएका छन् । बिहानी कक्षा सञ्चालनका लागि अवरोध नगर्ने आन्दोलनरत मधेसी दलको निर्णयपछि आज मुसहर, चमार, खत्बे, बाँतर, पासवान, डोम, मेस्तरलगायत अत्यन्त पिछडिएका जाति समुदायका ससाना नानी र गरिबका छोराछोरीले पढ्ने वातावरण पाएका हुन् ।
विद्यालय बन्द हुँदा गुलेली खेल्न सिकेर समय काट्दै आएका आफ्ना छोराछोरी अब विद्यालय जान पाउने भएपछि महोत्तरीका दलित बस्तीमा खुसी छाएको छ । “ठूलाबडा र मधेस आन्दोलनकै नेताका छोराछोरी राजधानी र अन्यत्रका महँगा निजी विद्यालयमा नै मा थिए ।” पशुपतिनगर–६ को दलित बस्तीका महेश्वरराम महराले भन्नुभयो–, “नेताहरुको बल्ल आँखा खुलेछ, अब हाम्रा नानी पढ्ने स्कुल पनि खुल्न थालेछन् ।”
यसपालिको शैक्षिक सत्रका बितेका सात महिना (वैशाखदेखि कात्तिक) मा भूकम्प, वर्षाबिदा र त्यसयताको आन्दोलनसम्म मुस्किलले एक महिनामात्र विद्यालय सञ्चालन हुन सकेको बिजलपुरा–५ स्थित जनता उमाविका शिक्षक मुखलाल महतोको भनाइ छ । “जे होस् अब विद्यालय खुलेका छन्” शिक्षक महतोले भन्नुभयो–, “अब विद्यालय राजनीतिक आन्दोलनको अखडा नबनून् ।”
लामो बन्दले शिक्षा क्षेत्र तहसनहस नै हुनै लागेका बेला मोर्चाले विद्यालय खोल्न दिने निर्णय गरेर राहत पु¥याएको गरिब र पिछडिएका जाति समुदायका अभिभावकले बताएका छन् । यद्यपि बिहानको कक्षा नै सञ्चालन गर्नुपर्ने मोर्चाको निर्णय भने अब बढ्दै जाने जाडो र ससाना नानीको अवस्थाले अव्यावहारिक भएको भङ्गाहा–६ को दलित बस्तीका सनिश्चर सर्दार बाँतरले बताउनुभयो ।
मधेसकेन्द्रित दलका केन्द्रदेखि जिल्ला नेतृत्वमा मुख्य जिम्मेवारीमा रहेका नेताका छोराछोरी सामुदायिक विद्यालयमा नपढ्दा विद्यालय खुल्न ढिलो भएको बताउने दलित पनि छन् । सामुदायिक विद्यालयका माध्यमिक तहका शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढेको भेट्टाइँदैन । निमावि र प्रावि तहका अधिकांश शिक्षकका छोराछोरी पनि निजी विद्यालयमा पढ्ने हुँदा सामुदायिक विद्यालयको शैक्षिक अवस्था नाजुक भएको शैक्षिक क्षेत्रमा लामो समय सेवा गरी अवकाश लिनुभएका बर्दिवास–१ का बासिन्दा मावि तहका अवकाशप्राप्त शिक्षक लीलाविक्रम थापाको भनाइ छ ।
शिक्षा क्षेत्रको यो तहसनहस अवस्था फेर्न, राजनीतिक दल र शिक्षकलाई जिम्मेवार बनाउन सामुदायिक विद्यालयको पठनपाठनस्तरीय बनाउन अब सरकारले सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढ्नैपर्ने अनिवार्य व्यवस्था गरिनुपर्ने समेत माग उठ्न थालेको छ । बर्दिवास–३ को दलित बस्तीका अगुवा मकरलाल विश्वकर्माले विद्यालय शान्तिक्षेत्र हुन् भन्ने कुरा सबै दल र सम्बद्घ पक्षले व्यावहारिक रुपमै आत्मसात् नगरेसम्म स्थिति सहज हुने विश्वास गर्न नसकिने बताउनुभयो ।
मोर्चाको निर्णयले विद्यालय खुल्न सहज भए पनि यातायात बन्द, इन्धन र ग्यास अभाव कायमै रहेका स्थितिमा विद्यालय राम्ररी सञ्चालन हुन भने गाह्रो देखिएको सञ्चारकर्मी गीता चिमोरियाको भनाइ छ । जिल्लामा ४११ प्राथमिक, १२७ निम्नमाध्यमिक, ६५ मावि र ४२ उमाविसहित ६४५ सामुदायिक विद्यालय छन्, जसमा एक लाख ६९ हजार ५८९ विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
गोपालप्रसाद बराल

Leave A Reply

Your email address will not be published.