रक्षा नेपालकी मिता राईले हालै बेल्जियममा सम्पन्न डेमोक्र्याटिक एजुकेशन सम्मेलनमा सहभागी भइ नेपालमा लोकतान्त्रिक शिक्षाको अवस्थाबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको छ। सम्मेलनमा उहाँले शिक्षामा विद्यार्थीको सक्रिय सहभागिता, स्वतन्त्र सोचलाई प्रोत्साहन गर्ने वातावरण र समावेशी नीति आवश्यक रहेको धारणा राख्नुभएको हो।
सम्मेलनमा उहाले नेपालमा बालबालिकाहरुको श्रम र यौन शोषण हुने, यौनका लागि तस्करी हुने गरेको बिषयमा बोल्नु भएको थियो। गरिबीका कारण बालअधिकार र स्वतन्त्रता हनन भैरहेका घटनाको बारेमा बिस्तृत बिबरण प्रस्तुत गर्दै निराकरणका लागि नेपाल सरकार र अन्तराष्ट्रिय निकायको सहयोग आबस्यक हुने बतानुभयो।
यसअघि पनि राईले अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवाको प्रतिनिधित्व गर्दै प्रजातान्त्रिक शिक्षाका बारेमा आफ्नो धारणा प्रस्तुत गरि सक्नु भएकोछ । गत वर्ष ताइवानमा आयोजित डेमोक्र्याटिक एजुकेशन सम्मेलनमा समेत उहाँले भाग लिनुभएको थियो।
डेमोक्र्याटिक शिक्षा अभियानमा निरन्तर सहभागिता मार्फत उहाँले नेपालमा लोकतान्त्रिक शिक्षाको आवश्यकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै आउनुभएको छ।
बेल्जियममा नेपालका बालबालिकाको बारेमा उनको प्रस्तुति सुनेर सहभागीहरु भावुक बनेका थिए, राईलाई डेमोक्र्याटिक शिक्षा अभियान चलाउन अनुरोध गर्दै सहयोग गर्ने बचनबद्धता जनाएका थिए।
चार वर्षको उमेरदेखि नै रक्षा नेपालको संरक्षणमा रहि आउनुभएकी राई सामाजिक र शैक्षिक गतिविधिमा सक्रिय हुनुहुन्छ र बालबालिकाको शैक्षिक अधिकारका लागि डेमोक्र्याटिक स्कूल आबस्यक भएकोले त्यसका लागि काम गर्ने लक्ष लिएको बताउनुहुन्छ। सोमबार नेपाल फर्कनुभएका राईलाई एनआरएनए बेल्जियमकि निबर्तमान अध्यक्ष सिता सापकोटा लगायतले बिदाई गर्नु भएको थियो।
राईले सम्मेलनमा आफ्नो सहभागिताले नेपालमा लोकतान्त्रिक शिक्षा प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको बताउनु भएकोछ।
रक्षा नेपालका अध्यक्ष मेनुका थापाले सानै उमेरमा शोषणमा परेकी परित्यक्त बालिकाले अन्तराष्ट्रिय मंचमा बाल अधिकार र प्रजातान्त्रिक शिक्षाका बारेमा बोल्नका लागि चयन हुनु गौरबको बिषय भएको बताउनुभएकोछ।